प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

सन्दीप लामिछाने नाबालिक बलात्कार मुद्दामा दोषी ठहर

२०८० पौष १३, शुक्रबार १९:१७ बजे

 काठमाडौं – नाबालिग बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर भएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले शुक्रवार यस्तो आदेश सुनाएको हो ।​ 

३ वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने भएकाले उनलाई कति वर्ष कैद सजाय हुने भन्ने तोकिएको छैन । त्यसका लागि  पुस २५ गतेका लागि अर्को पेसी तोकिएको छ ।

सोही सुनुवाईले लामिछानेमाथिको कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्नेछ । सन्दीपले २०७९ भदौ ५ गते गौशालाको एक होटलमा लगेर जबरजस्तीकरणी गरेको भन्दै भदौ २१ गते एक किशोरीले प्रहरी वृत्त गौशालामा किटानी जाहेरी दिएकी थिइन् । ती किशोरीले काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित एक होटलको कोठा ३०५ मा बलात्कार गरेको अभियोग लगाएकी थिइन् ।

उजुरीमा अनुसन्धान गरी प्रहरीले प्रतिवेदन बुझाएपछि सन्दीपविरुद्ध ०७९ कात्तिक १४ मा जिल्ला अदालतमा जबरजस्ती करणी मुद्दा दायर भएको थियो । त्यसबेला पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेशमा थुनामा पठाइएका सन्दीप उच्च अदालतको आदेशबाट थुनामुक्त भएका थिए ।