हेटौंडा – आफ्नै बुहारीको हत्या गरेको अभियोगमा कैलालीबाट सासु र ससुरा पक्राउ परेका छन् । आफ्नै २७ वर्षीया बुहारी कौशी भन्ने कबिता बुढाको हत्या गरेको अभियोगमा गौरीगंगा नगरपालिका–१ गोप्का बस्ने ५२ वर्षीय डिल्ली सिंह बुढा र उनकै श्रीमती ५० वर्षीया लहरी बुढा पक्राउ परेका हुन् ।
कबिता यही जेठ १८ गतेबाट हराएको भन्ने निवेदनका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा हत्या गरी गौरीगंगा नगरपालिका-१ केदारेश्वर सामुदायिक बनस्थित सुख्खा नालामा खाल्डोमा गाडेको अवस्थामा कविताको शव फेला परेको थियो ।
प्रहरीका अनुसार घरको काम नगर्ने, आफुखुशी गर्ने भनी निहु खोज्दै बिवाद हुँदा भान्सा कोठामा रोटी पकाउँदै गरेकी कबितालाई डिल्लीले टाउकोमा चिरपट दाउराले प्रहार गरी हत्या गरेका थिए । हत्या पश्चात डिल्ली र उनकै श्रीमती लहरी मिलेर लाशलाई डोकोमा हाली उक्त बनमा लगि गाडेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
लहरीलाई गत मंगलबार र फरार रहेका डिल्लीलाई भजनी नगरपालिका–३ सीमावर्ती क्षेत्रबाट शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। साथै प्रतिवादी डिल्लीलाई लुकाई छिपाई राख्न सहयोग गर्ने भजनी नगरपालिका–४ बस्ने ४१ वर्षीय जयबीर बुढालाईसमेत पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।