प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

बागमती गोल्डकपः आत्मघाती गोलमा एपिएफको जित, मच्छिन्द्र प्रतियोगिताबाट बाहिरियो

२०७९ पौष २७, बुधबार १२:३२ बजे

हेटौंडा – सहिद स्मारक ए डिभिजन लिग विजेत मच्छिन्द्र फुुटबल क्लब बागमती गोल्डकपबाट बाहिरिएको छ । बुधबार भएको खेलमा सशस्त्र प्रहरी बल एपिएफ क्लबसंग १–० गोल अन्तरले पराजित भएपछि मच्छिन्द्र प्रतियोगिताबाट बाहिरिएको हो ।

बागमती गाउँपालिकास्थित जनता माविको खेलमैदानमा भएको खेलमा एपिएफको जितका लागि मच्छिन्द्रका मारियाबाट भएको हात्मघाती गोल निर्णायक बन्यो । खेलको १३ औँ मिनेटमा एपिएफका मनी लामाको फ्री किकलाई मच्छिन्द्रका मारियाले किलियर गर्न खोज्दा बलले जाली चुमेको थियो ।

आत्मघाती गोलको मद्दतमा जित निकालेको एपिएफ प्रतियोगितको क्वाटरफाइनलमा प्रवेश गरेको छ । खेलको म्यानअफ दि म्याच एपिएफका मनि लामा घोषित भए । उनले नगद पाँच हजार पुरस्कार प्राप्त गरे ।

अब एपिएफले सेमिफाइनल प्रवेशका लागि चर्च व्वाईज युनाईटेडसंग प्रतिस्पर्धा गर्नेछ । चर्च व्वाईज र एपिएफबीचको खेल शुक्रबार हुनेछ । बिहिवार (भोली) हुने खेलमा भुटनिज स्पोर्टस् क्लब अमेरिका र हिमालयन शेर्पा क्लबबीच खेल हुनेछ ।

बागमती खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिता विजेताले ८ लाख र उपविजेताले ४ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । माघ ३ गतेसम्म चल्ने प्रतियोगितामा ७ विभागिय टिमसहित अन्तर्राष्ट्रिय र स्थानीय गरी १० टिमको सहभागीता रहेको छ ।