काठमाडौं – कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनल खेलहरु आज मंगलबारबाट सुरु हुँदैछ । पहिलो सेमिफाइनल अर्जेन्टिना र क्रोएसियाबीच हुँदैछ ।
अर्जेन्टिना र क्रोएसियाबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । दोहाको लुसेल रंगशालामा हुने पहिलो सेमिफाइनलमा मैदान उत्रदा अर्जेन्टिना र क्रोएसिया फाइनल पुग्ने योजनामा हुनेछ ।
अर्जेन्टिना क्रोएसियालाई हराएर छैटौं पटक विश्वकपको फाइनल पुग्ने योजनामा रहेको छ । अर्जेन्टिनाले दुई पटक विश्वकप जितिसकेको छ । २०१८ मा पहिलो पटक विश्वकप फाइनल पुगेको क्रोएसिया यसपल्ट उपाधि उचाल्ने लक्ष्यमा छ । साविक उपविजेता क्रोएसियाले विश्वकप उपाधि जित्न सकेको छैन ।
अर्जेन्टिना र क्रोएसियाबीच पछिल्लो पटक २०१८ को विश्वकपमा प्रतिस्पर्धा भएको थियो । समूह चरणको भेटमा क्रोएसियाले अर्जेन्टिनालाई ३–० ले हराएको थियो ।