प्रहर खबर
 २०८३ जेष्ठ २१, बिहीवार    

मकवानपुरसहित विभिन्न स्थानबाट लागुऔषध बरामद, ५ जना पक्राउ

२०७९ श्रावण १७, मंगलबार ०९:०६ बजे


हेटौंडा – मकवानपुर, बर्दिया, मोरङ, सप्तरीबाट लागुऔषध सहित ५ जना पक्राउ गरेको छ ।

हेटौंडा उपमहानगरपालिका–१२ सोल्टी चोक बस्ने २५ वर्षीय अमित तामाङलाई नियन्त्रित लागुऔषध वनरेक्स ४८ बोतल सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको घरमा लागुऔषध रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पदमपोखरी र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त लागुऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

बर्दिया बढैयाताल गाउँपालिका–८ सितलाबजार खल्ला खेतबाट करिब ५ सय ५० मिलिग्राम अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित मधुवन नगरपालिका–५ बस्ने २६ वर्षीय किरण वंशी मगर लगायत ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै मोरङ जहदा गाउँपालिका–२ हरीनगराबाट करिब ३६ किलोग्राम अवैध लागुऔषध गाँजा सहित सोही ठाउँ बस्ने २५ वर्षीय मुकेश गुरूङलाई गएराति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई नेपालबाट भारततर्फ उक्त लागुऔषध लैजाँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै सप्तरी महदेवा गाउँपालिका–२ कजौलीबाट करिब १५ किलोग्राम अवैध लागुऔषध गाँजा सोमबार राति प्रहरीले बरामद गरेको छ । प्र.१–०२–०४३ प १६२५ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले रोक्न खोज्दा मोटरसाइकल र बोरा छाडी व्यक्ति फरार भएपछि बोरा तालसी गर्दा उक्त लागुऔषध फेला परेको हो । हाल फरार व्यक्तिको प्रहरीले खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।