हेटौंडा – रुपन्देही र काठमाडौंमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
रुपन्देहीको सैनामैना नगरपालिका २ झारवैरा चोकमा आज बसले पिकअप गाडीलाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । पिकअपमा सवार रुपन्देहीकै शुद्धोधन गाउँपालिका १ बेलवाका ३५ वर्षीय गोरक लोनियाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गम्भीर घाइते भएका लोनियाको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो । घाइते भएका चालक सहित पिकअपमा सवार ८ जना र बसमा सवार एक जनाको सोही अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घाईते मध्ये ४ जनाको अवस्था गम्भिर रहेको छ । प्रहरीका अनुसार लु १ ख ८७८५ नम्बरको बसले लु ३ च ४३८४ नम्बरको पिकअप गाडीलाई आज बिहान पौने ११ बजे ठक्कर दिएको हो । दुवै सवारी साधन र बस चालकलाई ईलाका प्रहरी कार्यालय रन्यौराले नियन्त्रणमा लिएको छ ।
त्यस्तै काठमाण्डौको गोकर्णेश्वर नगरपालिका ५ शिवचोक नजिकै करिडोरमा आज ट्रक र मोटरसाइकल आपसमा ठोकिदा एक जनाको मृत्यु भएको छ, भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक रामेछापको उमाकुण्ड गाउँपालिका ७ का २६ वर्षीय स्माइल सुनुवार रहेका छन् ।
प्रहरीका अनुसार गम्भिर घाइते भएका सुनुवारको उपचारको क्रममा महाराजगंज स्थित शिक्षण अस्पतालमा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकल पछाडी सवार ओखलढुङ्गा घर भइ हाल भक्तपुर बस्दै आएका ३५ वर्षीय शिव बहादुर श्रेष्ठलाई उपचारको लागी नारायणटार स्थित नेपाल अर्थोपेडिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
भारतीय नम्बरको ट्रक र बा ८६ प ९७६५ नम्बरको मोटरसाइकल आज बिहान ११ बजे आपसमा ठोकिएका हुन् । दुर्घटनामा संलग्न ट्रक चालक भने फरार रहेकाले खोजी भइरहेको प्रहरी वृत्त बौद्धले जनाएको छ ।