काठमाडौं – मुग्लिन–काठमाडौं सडक खण्ड स्तरोन्नति तथा निर्माण कार्यका लागि आजदेखि पुस १३ गतेसम्म दैनिक ३ घन्टा बन्द गरिने भएको छ। नागढुङ्गा–मुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै बिहान ११:०० बजेदेखि दिउँसो २:०० बजेसम्म सडक बन्द हुने जानकारी गराएको छ।
सडक बन्दका कारण सो क्षेत्र हुँदै आवतजावत गर्ने सवारी साधनहरूका लागि वैकल्पिक व्यवस्था अपनाउन आयोजनाले आग्रह गरेको छ। एम्बुलेन्स, प्रहरीका सवारी र दमकलजस्ता अत्यावश्यक सवारी साधनहरू भने यस अवरोधमा समावेश हुने छैनन्।
सवारी व्यवस्थापनको योजना
पोखरेभिर मोड सुधारका लागि नौबिसेबाट गजुरी जाने भारी सवारीसाधन गल्छी–बैरेनीमा रोकिनेछ भने हलुका सवारीसाधन जरेखेतमा रोकिनेछन्।
चितवनतर्फबाट नौबिसे जाने सवारीसाधन चालिसे र घाटबेँसीमा रोकिनेछ।मुग्लिनबाट मलेखु जाने सवारीसाधन मझिमटार र चरौंदी बजारमा रोकिनेछ।
नागढुङ्गा–मुग्लिन सडक आयोजनाका इन्जिनियर विजय दराईका अनुसार पोखरेभिर र विशालटार मोड सुधारका लागि निर्माणकार्य भइरहेको छ। आयोजनाले सवारीचालकलाई लेन अनुशासन पालना गरी सुरक्षित यात्रा गर्न अनुरोध गरेको छ।
सडक बन्दले यात्रुहरूको यात्रा व्यवस्थापनमा असुविधा हुन सक्ने भएकाले समय व्यवस्थापन गर्न सबैलाई सजग रहन आग्रह गरिएको छ।