प्रहर खबर
 २०७९ आश्विन २१, शुक्रबार    

छुट्टाछुटै स्थानबाट लागुऔषध सहित १४ जना पक्राउ

२०७९ श्रावण १८, बुधबार १५:४२ बजे

हेटौंडा – प्रहरीले देशका छुट्टाछुटै स्थानबाट १४ जनालाई लागुऔषध सहित पक्राउ गरेको छ । दाङ पाँच, बाँके तीन, बर्दिया र धनकुटादुई–दुई, कैलाली र झापाबाट एक–एकलाई लागुऔषध सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

दाङ घोराही उपमहानगरपालिका–१३ बस्ने २० वर्षीय अरुन पुन मगर समेत ४ जनालाई करिब ८ सय मिलिग्राम अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनीहरूले लागुऔषध बेचविखन गरिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनीहरुको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

दाङकै घोराही उपमहानगरपालिका–१७ कर्जाही क्वाडीबाट २ सय ७० मिलिग्राम अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने २४ वर्षीय रन्जित भण्डारीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । भण्डारीले उक्त स्थानमा लागुऔषध बेचविखन गरिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

बाँके कोहलपुर नगरपालिका–८ बाबानगरस्थित पालगंजबाट करिब ५ ग्राम ५ सय मिलिग्राम अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही नगरपालिका–५ एनसीसीएन बस्ने २८ वर्षीय निर्मल सिंह ठकुरीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । भे।११ प ७८१८ नम्बरको स्कुटरलाई ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै बाँकेकै नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट करिब ८ ग्राम ५ सय मिलिग्राम अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित कोहलपुर नगरपालिका–१० बस्ने २९ वर्षीय दिपेश परियार र सोही नगरपालिका–७ बस्ने २९ वर्षीय नारायण बुढाथापालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको भे।३ प २७६२ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय जमुनाह र लागुऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको संयुक्त प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

धनकुटा साँगुरीगढी गाउँपालिका–६ फेदीबाट करिब ५ किलोग्राम अवैध लागुऔषध गाँजा सहित शहिदभूमि गाउँपालिका–७ बस्ने २६ वर्षीय प्रदिप राई र १७ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । को.३९ प ६५६७ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै बर्दिया गुलरिया नगरपालिका–१२ स्थित मनैया सामुदायिक वनबाट करिब ४ सय ९० मिलिग्राम अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका सुर्जगौडी गाउँ बस्ने १९ वर्षीय राकेश श्रीबास्तव र ३० वर्षीय नुरुदिन गड्डी रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । साथै उनीहरूको साथबाट भे।६ प १८१७ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको प्रहरीले जनाएको छ ।

कैलाली धनगढी उपमहानगरपालिका–३ मिलनचोकबाट करिब ३ ग्राम २ सय मिलिग्राम अवैध लागुऔषध ब्राउनसुगर सहित डोटी बडिकेदार गाउँपालिका–१ बस्ने २८ वर्षीय बसन्त मौनीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

त्यस्तै झापा अर्जुनधारा नगरपालिका–११ बुट्टाबारीबाट करिब १ ग्राम अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही ठाउँ डेरा गरी बस्ने २५ वर्षीया आइसा गिरीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । आइसाको डेरामा लागुऔषध राखेको भन्ने विशेष सूचनाको आधारमा अस्थाई प्रहरी चौकी सालवारीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।