प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

भीमफेदीको ऐतिहासिक हात्तीसार : संरक्षण र प्रवर्द्धनको पर्खाइमा राजशाहीकालीन शिकार संस्कृति बोकेको संग्रहालय

२०८२ असार ९, सोमबार १७:१६ बजे

प्रतिक्षा न्यौपाने

मकवानपुर। नेपालका तत्कालीन शासक वर्गले चितवनको जंगलमा शिकार खेल्न प्रयोग गरेको भीमफेदीको ऐतिहासिक हात्तीसार अहिले संग्रहालयमा परिणत भएको छ।

इतिहासका पानाहरू बोकेको यो स्थान संरक्षण र प्रवर्द्धनको पर्खाइमा छ। मकवानपुरको भीमफेदी गाउँपालिका–६ मा अवस्थित राणाकालीन हात्तीसार संग्रहालय नेपालका प्रथम राणा प्रधानमन्त्री जङ्गबहादुर राणा, श्री ५ महेन्द्र, बडामहारानी, बेलायती महारानी एलिजाबेथ द्वितीय, श्री ५ विरेन्द्र र श्री ५ ज्ञानेन्द्रसम्मले शिकारको सिलसिलामा प्रयोग गरेको ऐतिहासिक स्थल हो।

उनीहरू हात्तीमा हौदामा चढेर चितवनतर्फ शिकार खेल्न जाने गर्थे। हाल संग्रहालयमा राजशाहीकालीन शिकारमा प्रयोग भएका सामग्रीहरू—हौदा, हात्ती चढ्न प्रयोग गरिने साधनहरू, शिकारका औजार, जुटका बोरा, हात्ती बाँध्ने पोल, बेलायती शैलीको एक्युरियम, बेत, धागो, खन्ती, घिर्नी, झुलका डण्डी, पूराना काठका सामग्रीजस्ता सयौं वर्ष पुराना ऐतिहासिक वस्तुहरू राखिएका छन्।

संग्रहालयमा बेलायती महारानी एलिजाबेथले प्रयोग गरेका चारवटा शिकारी हौदा, जङ्गबहादुर राणाले प्रयोग गरेका पिंजडा हौदासहित जम्मा ४२ वटा हौदाहरू सुरक्षित अवस्थामा राखिएको स्थानीय सुनिता लामाले प्रशासनले जनाएको छ। भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाका अनुसार, “संग्रहालयमा रहेका सामग्रीहरूले नेपालको शाही इतिहास र शिकार संस्कृतिलाई उजागर गर्छन्।

तर, यसलाई व्यवस्थित संरक्षण र प्रचारप्रसारको खाँचो छ। यो संग्रहालयलाई पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्न सकिन्छ।” उनले अन्तर्राष्ट्रियस्तरमा पनि चिनाउने गरी संरचनागत सुधार, सामग्री संरक्षण र प्रचार अभियान सञ्चालन गर्न आवश्यक रहेको बताए।

“सयौं वर्ष पुराना सामग्री जतन गर्न सके स्थानीय पर्यटन मात्र होइन, राष्ट्रिय सांस्कृतिक सम्पदा प्रवर्द्धनमा पनि टेवा पुग्नेछ,” अध्यक्ष लामाले थपे। अहिले संग्रहालयमा रहेका केही दुर्लभ सामग्री र तस्वीरहरू सार्वजनिक गरिँदै छन्, जसले इतिहासप्रेमीहरूका लागि संग्रहालयलाई अझै आकर्षक बनाउने विश्वास लिइएको छ। भीमफेदीको यो ऐतिहासिक संग्रहालय अब संरक्षण र आधुनिक व्यवस्थापनको पर्खाइमा छ ।