काठमाडौं – रामेछापको खाँडादेवी गाँउपालिका–३ भीरपानीमा मंगलबार साँझ यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।
मृत्यु हुनेमा सिन्धुली सुनकोसी गाँउपालिका–६ खहरे खोलाकी १७ वर्षे युवती युनिषा श्रेष्ठ रहेका छन् । दुर्घटनामा परी घाइते श्रेष्ठको उपचारका लागि सिन्धुलीतर्फ लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक प्रदिप कुमार सिंहले जानकारी दिए।
काठमाडौंबाट मन्थली हुँदै सिन्धुलीको सुनकोशी गाँउपालिकास्थित अमारे जाँदै गरेको प्र ०१–००५ ख ९५७९ नम्बरको बस ब्रेक फेल हुँदा दुर्घटना भएको प्रहरी नायव उपरीक्षक प्रदिपले जानकारी दिए। घाइतेहरुको सिन्धुली जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको जनाएको छ।