प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

आगामी निर्वाचनमा दुईवटा गठबन्धन बन्छः नेता खनाल

२०७८ चैत्र १६, बुधबार १३:१७ बजे

काठमाडौं – सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आगामी निर्वाचनमा दुईवटा गठबन्धन बन्ने बताएका छन् । बुधबार पार्टीले गैर आवासिय नेपाली संघको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सम्मानित नेता खनालले आगामी निर्वाचनमा दुईवटा गठबन्धन बन्न सक्ने स्थिति रहेको बताएका हुन् ।

उनले सत्तारुढ दलहरुको पाँच दलिय गठबन्धन बन्ने र विपक्षमा अर्को चार दलिय गठबन्धन बन्नसक्ने बताएका हुन् । नेपाली जनमत दुईवटा गठबन्धनका बिचमा विभाजित हुने उनले बताए । सम्मानित नेता खनालले संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षाको निम्ति पाँच दलिय गठबन्धन बनेको उल्लेख गर्दै आगामी दिनमा पनि एकतावद्ध भएर जानका लागि सबैले निर्णय गरिसकेको बताए । उनले भने – ‘यहाँ गठबन्धन–गठबन्धन बन्ने खालको स्थिति छ । हामी पाँच दलिय गठबन्धनमा छौँ । अब अर्कोपनि गठबन्धन चार दलिय गठबन्धन बन्छ कि । त्यो खालको अवस्था छ र दुईवटा गठबन्धनको बिचमा नेपाली जनमत विभाजित हुने स्थिति छ । हामीले संविधानमाथि, गणतन्त्रमाथि, संसदमाथि जुन खालका खतरा पैदा भए त्यो खतरालाई अहिले हामीले रोकेका छौँ । यो खतराबाट रोकिएको छ । मुलुक अपेक्षाकृत रुपले स्थिरतातर्फ अगाडी बढेको छ । संविधान हामीले बचाउन सकेनौँ भने देशलाई स्थिर ढंगले अगाडी लान सकिदैन । हिजो एक कालखण्डमा के थियो भने राजा रह्यो भने राज स्थिरताको फयाक्टर हो भन्थे । अब त्यो त उन्मुलन भएर गइसक्यो । अहिले स्थिरताको फयाक्टर भनेको हाम्रो संविधान हो । त्यो संविधानलाई हलचल गर्न नदिइकन त्यसलाई रक्षा गरेर लानु अहिलेको निम्ति, यो कार्यनीतिक कालखण्डको निम्ति एकदमै जरुरी भएको छ । त्यो कारणले संविधानको रक्षाका लागि, लोकतन्त्रको रक्षाका लागि र गणतन्त्रको रक्षाका लागि हामीले यो पाँचदलिय गठबन्धन बनाउनुपर्ने एउटा बाध्यात्मक स्थिति खडा भयो । अब पनि यसलाई दृढतापूर्वक एकतावद्ध भएर जाने कुराहरुमा हामी सबैले निर्णय पनि गरिसकेका छौँ ।’

 उनले गैर आवासिय नेपाली र नेपाली जनताको बिचमा प्राकृतिक सम्बन्ध रहेको बताउनुभयो । आगामी दिनमा पनि सो सम्बन्धलाई गहिरो, आत्मिय र घनिष्ठ बनाउनुपर्ने उनले बताए । आपसी सर–सहयोग बढाउनुपर्ने पर्नेमा उनले जोड दिए ।