हेटौँडा। हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि महत्वाकांक्षी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
मंगलबार १७औं नगरसभामा नगरप्रमुख मीनाकुमारी लामाले प्रस्तुत गर्नुभएको नीतिमा आयोजना बैंक कार्यान्वयनदेखि फन पार्क निर्माण, कृषि प्रबर्द्धन र स्वास्थ्य पूर्वाधार विस्तारलगायतका विषय समावेश छन्। नगरप्रमुख लामाका अनुसार,अब उपमहानगर क्षेत्रका योजना तर्जुमा प्रणालीलाई व्यवस्थित बनाउन आयोजना बैंक व्यवस्थापन सूचना प्रणाली निर्माण गरिने छ। यसले योजना छनोट, प्राथमिकता र कार्यान्वयनमा पारदर्शिता ल्याउने विश्वास व्यक्त गरिएको छ।
यस्तै, नीति तथा कार्यक्रममा हेटौँडा वडा नं. १४ मा सार्वजनिक निजी साझेदारी (PPP) मा आधारित सुविधा सम्पन्न फन पार्क निर्माण गरिने बताउनु भएको छ। यसले नगरवासीका लागि मनोरञ्जन र पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा राखिएको छ।
साथै,आगामी आवमा किसानको सूचीकरण सम्पन्न गर्ने, वर्गीकरण गरी परिचयपत्र वितरण गर्ने, युवा लक्षित कृषि कार्यक्रम सञ्चालन गर्ने, र प्राङ्गारिक मलको प्रयोगलाई प्रोत्साहन गरिने भएको छ। “एक वडा, एक कृषि उत्पादन” कार्यक्रम अन्तर्गत वडा नं. १३ मा मेवाखेती र वडा नं. १ मा कोदोखेतीलाई निरन्तरता दिइने भएको छ।
यसैगरी,वडा नं. १३ र १६ का नगर अस्पतालहरूलाई संघीय र प्रदेश सरकारको सहकार्यमा स्वास्थ्य बिमासहितको आधुनिक अस्पतालको रूपमा विकास गरिनेछ। रोजगार सेवा केन्द्रलाई प्रभावकारी बनाई बेरोजगारलाई सीपमूलक तालीमद्वारा श्रममूलक कार्यमा जोड्ने नीति लिइएको छ। भने हेटौँडा १० मा निर्माणाधीन एकीकृत बस टर्मिनल तथा सपिङ कम्प्लेक्सको निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याइनेछ। हेटौँडा ४ मा बहुउद्देश्यीय व्यावसायिक भवनको निर्माण प्रक्रिया पनि कानूनी ढाँचामा अगाडि बढाइनेछ।
नगर प्रमुख लामाले आन्तरिक स्रोतमा वृद्धि गर्न करको दायरा विस्तार गर्ने योजना पनि अगामी वर्षको प्राथमिकतामा राखिएको जानकारी दिनुभयो। अन्तरपालिका समन्वय सञ्जाल निर्माण गरी साझा सरोकारका पर्यटन प्रवर्द्धन कार्यहरूलाई समेत व्यवस्थित रूपमा अगाडि बढाइनेछ।