प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

सन्दीप लामिछानेलाई २० लाख धरौटीमा छाड्न आदेश

२०७९ पौष २८, बिहीबार १३:२७ बजे

काठमाडौं – नाबालिका बलात्कार आरोपमा पक्राउ परेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा छाड्न आदेश दिएको छ। सञ्चारमाध्यहरुका अनुसार न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले लामिछानेलाई धरौटीमामै छाड्न आदेश दिएको हो।

काठमाडौं जिल्ला अदालतले पुर्पक्ष थुनामा पठाउन दिएको आदेशविरुद्ध सन्दीप उच्च अदालत पाटनमा निवेदन दिएको थियो । इजलाशले उनलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको लामिछानेका वकिल सरोज घिमिरेले जानकारी दिए। गत कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतमा दुवै पक्षको बहसपछि सन्दीपलाई थुनामा पठाउन आदेश दिइएको थियो।

अदालतले लामिछानेलाई विदेश जान रोक लगाएको छ। गत भदौ २० गते एक किशोरीले बलात्कारको आरोपमा सन्दीपविरुद्ध प्रहरी वृत्त गौशालामा उजुरी दिएकी थिइन् ।