काठमाडौं – महिला यू-१० एसिया कप क्रिकेटमा नेपालले आज समूह ‘ए’ को अन्तिम खेलमा भारतसँग प्रतिस्पर्धा गर्नेछ। खेल नेपाली समयअनुसार बिहान ११:४५ बजे मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा सुरू हुनेछ।
नेपालले समूह चरणको आफ्नो पहिलो खेलमा पाकिस्तानलाई चार विकेटले पराजित गर्दै शीर्ष चारमा स्थान सुरक्षित गरिसकेको छ। सोमबार भएको खेलमा पाकिस्तानले दिएको १०५ रनको लक्ष्य नेपालले १९ ओभरमा चार विकेट गुमाउँदै पूरा गरेको थियो।
दुई खेलमा पराजित भएपछि पाकिस्तान समूह चरणबाट बाहिरिएको छ। भारतसँग खेल्नुअघि नै नेपाल समूह ‘ए’ बाट शीर्ष चारमा पुगिसकेको हो।
समूह ‘बी’ मा श्रीलंका, बंगलादेश र मलेसिया रहेका छन्। दुई खेल खेलेको श्रीलंका एक जितसहित शीर्ष स्थानमा छ। श्रीलंकाले मलेसियालाई पराजित गरे पनि बंगलादेशसँग पराजित भएको थियो।
एसिया कपको नियमअनुसार समूह ‘ए’ र समूह ‘बी’ बाट शीर्ष दुई टोलीले सेमिफाइनलमा प्रवेश गर्नेछन्। सेमिफाइनल चरणका खेलहरूपछि शीर्ष दुई टोली फाइनलमा प्रतिस्पर्धा गर्नेछन्।
नेपालले भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै आगामी चरणका लागि आत्मविश्वास बढाउने लक्ष्य राखेको छ।