काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ भने बाँकी भूभागमा आंशिक बदलीसहित मुख्यतया मौसम सफा रहेको छ। काठमाडौं उपत्यकामा आकाश आंशिक बदली छ। देशभर साधारणतया बदली हुने सम्भावना छ।
सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। कोशी प्रदेशका पहाडी भूभागका केही स्थानमा पनि हल्कादेखि मध्यम वर्षा हुनसक्छ। बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा हुने सम्भावना रहेको छ।
देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा साधारणतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिकदेखि साधारणतया बदली हुनेछ।
सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। कर्णाली प्रदेश र कोशी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ भने अन्य प्रदेशका थोरै स्थानमा हल्का वर्षा हुनेछ।
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुनेछ। गण्डकी प्रदेश र बागमती प्रदेशका एक-दुई स्थानमा पनि हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान अनुसार हिमाली र पहाडी क्षेत्रहरूमा हिमपातका कारण चिसो बढ्नसक्ने भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्नेहरूले विशेष सतर्कता अपनाउन सुझाव दिइएको छ।