हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं १ का अध्यक्ष तथा कार्यपालिकाका प्रवक्ता सबिन न्यौपानेमाथि भएको आक्रमणको सात राजनीतिक दलहरूले संयुक्त रूपमा कडा भर्त्सना गरेका छन् ।
बुधबार वडा कार्यालयभित्रै एक अज्ञात समूहले अध्यक्ष न्यौपानेमाथि कालो मोबिल छ्यापेर आक्रमण गरेका थिए ।
यस घटनालाई मकवानपुर जिल्लाका प्रमुख राजनीतिक दलहरूले योजनाबद्ध र लोकतन्त्रविरोधी गतिविधिको संज्ञा दिँदै दोषीको तत्काल पहिचान गरी कानुनी कारबाही गर्न माग गरेका छन् ।
संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ, “समस्याको समाधान वैचारिक बहस र संवादबाट खोजिनुपर्छ, हिंसात्मक गतिविधिले लोकतान्त्रिक मूल्य र संस्कारमाथि आघात पुर्याउँछ।” विज्ञप्तिमा घटनाको कडा निन्दा गर्दै दोषीहरूलाई तत्काल कानुनी दायरामा ल्याउन जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रशासनसँग जोडदार माग गरिएको छ ।
संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्ने सात दलका नेताहरू यस प्रकार छन्:
१.श्री बुद्ध लामा, नेपाली कांग्रेस, सभापति, मकवानपुर
२. श्री हिदम लामा, नेकपा एमाले, उपाध्यक्ष, मकवानपुर
३.श्री भीम पाखिन, नेकपा माओवादी केन्द्र, मकवानपुर
४.श्री सागर थापा, राष्ट्रिय प्रजातन्त्र पार्टी (रा.प्र.पा.), कार्यवाहक अध्यक्ष, मकवानपुर
५. श्रीमती अस्मीता न्यौपाने, राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.), मकवानपुर
६. श्री विष्णु प्रसाद दहाल, नेकपा एकीकृत समाजवादी, अध्यक्ष, मकवानपुर
७. श्री गुरु प्रसाद सापकोटा, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, अध्यक्ष, मकवानपुर
यसैबीच नेकपा (एकीकृत समाजवादी) मकवानपुर जिल्ला कमिटीले पनि छुट्टै प्रेस विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गरेको छ । पार्टी अध्यक्ष विष्णुप्रसाद दाहालको हस्ताक्षर रहेको विज्ञप्तिमा लोकतान्त्रिक प्रक्रियामाथि भएको हमला भन्दै दोषी पहिचान गरी कारबाही गर्न जोड दिइएको छ ।
वडा अध्यक्ष सबिन न्यौपानेको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ भने घटनापछि सुरक्षा व्यवस्था थप कडा बनाइएको छ । आक्रमणकारीहरूको खोजी तथा घटनासम्बन्धी अनुसन्धान तीव्र गतिमा भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।