प्रहर खबर
 २०८१ बैशाख २०, बिहीबार    

गोविन्द भट्टराईको जित सुनिश्चित छः महामन्त्री शर्मा

२०७९ चैत्र २७, सोमबार ०२:४३ बजे

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्तारुढ गठबन्धनका उम्मेदवार गोविन्द भट्टराईको पक्षमा सिङ्गो पार्टी र गठबन्धन परिचालित भएकाले जित सुनिश्चित भएको बताएका छन्।

तनहुँको आँबुखैरेनीमा मतदाता भेटघाट कार्यक्रमको अवसरमा महामन्त्री शर्माले मंसिर ४ को निर्वाचनमा गठबन्धनले जितेको स्मरण गराउँदै उपनिर्वाचनमा पहिलेकै गठबन्धन कायम रहेको र उम्मेदवार पनि सशक्त भएकाले जित निश्चित रहेको बताए।

उम्मेदवार भट्टराईसँग केही दिनपछि संसद्मा भेट हुने बताए । नेता भट्टराई असल र निष्ठाको राजनीति गर्ने विद्यार्थी कालदेखिको नेता भएको महामन्त्री शर्माको दाबी छ ।

महामन्त्री शर्माले तनहुँको विकास र समृद्धिको लागि उम्मेदवार भट्टराईलाई जिताउनुपर्ने बताए। ‘पार्टी छोडेर गएका मूल घर फर्किएर रुख रोप्ने र रुखलाई जिताउने अभियानमा लाग्न अनुरोध छ,’ महामन्त्री शर्माले भने।

विभाजित सबै नेता, कार्यकर्ता तथा आफ्नै घरमा फर्किएर एकताबद्ध भएर पार्टी बलियो बनाउनुपर्ने उनले बताए । साथै उनले तनहुँको विकास र समृद्धिको लागि उम्मेदवार भट्टराईलाई जिताउनुपर्ने बताए।

तनहुँ–१ का उम्मेदवार भट्टराईले घर फोहर भयो भनेर घर छाड्न नहुने बताए। उनले घरलाई सफा बनाएर सिङ्गारेर बस्नुपर्ने बताए। राष्ट्रपति बनेका रामचन्द्र पौडेले मङ्सिर ४ को निर्वाचनको बेला जनता समक्ष गरेका वाचा भट्टराईले पूरा गर्ने बताए।