मकवानपुर । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट बहुमतले पारित भएको छ ।
सोमबार बसेको प्रदेशसभाको बैठकले अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र विनियोजन विधेयक २०८१ बहुमतले पारित गरेको हो ।
बैठकले प्रदेश सरकारको बजेटको पुरक प्रस्ताव समेत स्वीकृत गरेको छ । उक्त प्रस्तावलाई विनियोजन विधेयकको अङ्ग बनोस् भन्ने प्रस्ताव प्रदेशसभा बैठकले बहुमतले स्वीकृत गरेको हो ।
बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले संसदमा पेस गरेको प्रदेश सरकारको आर्थिक वर्ष २०८२/०८३ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन गरियोस् र प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई पारित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो ।
मन्त्री काफ्लेले पेस गरेको उक्त प्रस्तावलाई सभामुख भुवन कुमार पाठकले निर्णयार्थ पेस गरेका थिए ।
सभामुख पाठकले निर्णायार्थ पेस गरिएको उक्त प्रस्तावको पक्षमा रहेर सत्तारुढ दलका सांसदहरुले हुन्छ भनेका थिए भने प्रतिपक्षका सांसदहरूले हुन्न भनेका थिए ।
हुन्छ भन्ने प्रस्तावको पक्षमा बढी सांसद रहेकाले सभामुख पाठकले सरकारको विनियोजन विधेयक र अर्थ विधेयक बहुमतले पारित भएको घोषणा गरेका थिए ।
बैठकमा प्रदेशसभाका ७ जना सांसदहरूले सरकारको बजेटमा खर्च कटौतीको प्रस्ताव राखेका थिए । बैठकमा सांसद देवेन्द्र श्रेष्ठ, प्रेम पुलामी, रुकु चौलागाई, सुष्पा भुजेल, उर्मिला कुमारी लामा र सृजना सायजुले खर्च कटौतीको प्रस्ताव दर्ता गराएका थिए ।
सांसद आशा लामा र कुमारी तामाङले संयुक्त रूपमा दर्ता गरेको कटौतीको प्रस्ताव संसदमा प्रस्तुत हुन सकेन ।
संसदमा प्रस्तुत भएको खर्च कटौतीको प्रस्तावलाई सभामुख पाठकले निर्णायार्थ पेस गरेका थिए । उक्त प्रस्तावहरू बहुमतले अस्वीकृत भएका थिए ।
त्यसअघि प्रदेशसभामा सरकारको बजेट माथि सांसदहरूले आइतबार र सोमबार बिहान धारणा राखेका थिए भने विभागीय मन्त्रीहरूले बजेट माथि उठेका प्रश्नहरूको जवाफ दिएका थिए ।
बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री काफ्ले सहित मुख्यमन्त्री बहादुर सिंह लामाले बजेट माथि उठेका प्रश्नहरूको जवाफ दिएका थिए ।
बागमती सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँको बजेट प्रस्ताव गरेको छ ।
प्रदेश सरकारको बजेट आइतबार नै पारित गर्ने तयारी गरिएपनि छलफलमा भाग लिने सांसदको संख्या बढेपछि सोमबारका लागि कार्यसूची सारिएको थियो ।
गत असार १ गते आर्थिक मामिला तथा योजना मन्त्री काफ्ले प्रस्तुत गरेको बजेट माथि असार १२ गतेदेखि छलफल गर्ने कार्यसूची तय रहेको थियो ।
बजेट माथिको विवादका कारण प्रदेशसभा बैठक प्रभावित हुँदा बजेट माथिको छलफल असार २० गतेबाट सुरु भएको थियो ।
बजेट विवादका कारण पटक पटक प्रदेशसभा बैठक स्थगित भएपछि दलहरू बिच बजेट माथिको छलफल थाल्न ८ बुँदे सहमति सहित बजेटको पुरक प्रस्ताव समेत ल्याउनु परेको थियो ।
पुरक प्रस्ताव संसदमा दर्ता भएपछि भने बजेट माथिको छलफल निरन्तर चलाइएको थियो ।