हेटौंडा – नेपालमा हिउँदको पहिलो बर्षा र हिमपातसंगै देशव्यापी रूपमा चिसो बढेको छ । चिसोबाट बाच्नका लागि मानिसहरु न्यानो कपडा लगाउने र आगो ताप्ने गर्छन् । आगो ताप्ने क्रममा ध्यान नपुर्याउँदा त्यही आगोले ज्यान लिएको छ ।
सिन्धुपाल्चोक बाह्रबिसेमा आगो ताप्ने क्रममा काठले बारेको जस्तापाताको छानो भएको एकतले घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रबिसे नगरपालिका–८ का ४५ वर्षीय ४५ लोकबहादुर नेपाली रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए ।
उनका अनुसार घरभित्र आगो बाली ताप्ने क्रममा आगलागी भई एलपी ग्यास सिलिण्डर पड्किँदा सो घटना भएको हो। आगलागीबाट लोकबहादुरको पूरै शरीर जलेर घटनास्थलमै सोमबार साँझ मृत्यु भएको उनले बताए।
लोकबाहदुरको परिवारका अन्य सदस्यलाई प्रहरीले तत्काल उद्धार गरेको थियो। आगो पूर्णरूपमा नियन्त्रणमा आएको छ। क्षतिको अन्य विवरण आउन बाँकी रहेको जनाइएको छ।