प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

अस्पतालको पार्किङमा कुटपिट

२०८१ पौष १४, आईतबार ०८:५८ बजे

काठमाडौं – काठमाडौंको लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङ क्षेत्रमा भएको कुटपिट घटनामा संलग्न थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले शुक्रबार सिन्धुलीका टिका भण्डारीलाई पक्राउ गरेको एसपी नवराज अधिकारीले जानकारी दिए।

यो घटना कात्तिक ११ गते दिउँसो भएको थियो। टिका भण्डारीसहितको समूहले ३५ वर्षीय बिक्रम लामामाथि आक्रमण गरेको आरोप छ। यसअघि प्रहरी टोलीले शैलेन्द्र तामाङ (मार्शल) लाई पक्राउ गरी अनुसन्धान अघि बढाइसकेको छ।

बिक्रम लामा नुवाकोट ककनी गाउँपालिका-६ का स्थायी बासिन्दा हुन् र हाल टोखा नगरपालिका वडा नम्बर-३ मा बस्दै आएका छन्। उनीमाथि अस्पतालको पार्किङ क्षेत्रमा अन्धाधुन्ध रड प्रहार भएको थियो। प्रारम्भिक अनुसन्धानमा लामा र आक्रमणकारीहरूबीच पुरानो रिसइबी रहेको हुनसक्ने देखिएको छ।

घटनापछि घाइते लामाको प्राथमिक उपचार इनोभा अस्पतालमै गरिएको थियो। थप उपचारका लागि परिवारले उनलाई ग्रीन सिटी अस्पतालमा लगेका छन्।

प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको र दोषीहरूमाथि कानूनी प्रक्रिया अघि बढाइने जनाएको छ।