काठमाडौं – ललितपुरमा चिकित्सकको नाममा विश्वास गरेपछि एक बिरामी लुटिएको घटना सार्वजनिक भएको छ। नक्कली चिकित्सक बनेर बिरामीलाई ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार, महोत्तरी जलेश्वर नगरपालिका–२ हरिटोल निवासी र ललितपुर महानगरपालिका–१७ ग्वार्कोमा बस्दै आएका ३० वर्षीय डा. आलोक भन्ने जितेन्द्र मण्डलले नक्कली चिकित्सक बनेर लुटपाट गरेका हुन्। उनलाई प्रहरीले नुवाकोट पञ्चकन्या गाउँपालिका–४ आरूखर्कबाट पक्राउ गरेको हो।
पक्राउ परेका मण्डलको साथबाट रु ५९ हजार तीन सय ६० नगद र तीन थान मोबाइल बरामद गरिएको छ। प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार, पीडित मधुमेहका बिरामी थिए। उनी सामाजिक सञ्जाल फेसबुकमार्फत मण्डलसँग सम्पर्कमा आएका थिए। मण्डलले आफू चिकित्सक भएको भन्दै उपचारका नाममा पीडितको घरमा पुगे।
उपचारका क्रममा बेहोस बनाउने औषधि प्रयोग गरी पीडितलाई अचेत बनाएपछि उनले कोठामा रहेको नगद, सुन, र चाँदीका गहनाहरू चोरेर फरार भएका थिए। चोरीका सामानको मूल्य करिब तीन लाख रुपैयाँ रहेको जनाइएको छ।
मण्डललाई चोरीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि प्रहरी वृत्त सातदोबाटो पठाइएको छ। प्रहरीको यो सफलता नक्कली चिकित्सकहरूबाट सचेत रहन नागरिकलाई सन्देश दिने विश्वास गरिएको छ