हेटौंडा । "कृषि उत्पादनमा यान्त्रिकीकरण प्रवर्द्धन गर्दै स्थानीय कृषकहरूको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने" उद्देश्यका साथ हेटौंडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को कृषि यन्त्रीकरण प्रवर्द्धन कार्यक्रम अन्तर्गत कृषि यन्त्र तथा उपकरण वितरण कार्यक्रम सम्पन्न गरेको छ।

‘स्वच्छ, उत्पादनशील, समृद्ध शहर हेटौंडा’ भन्ने नारासहित उपमहानगरपालिकाको कार्यालय परिसरमा आयोजित कार्यक्रममा नगर प्रमुख मीना कुमारी लामा, नगर उपप्रमुख राजेश बानिया, आर्थिक विकास महाशाखा प्रमुख जग्गनाथ सापकोटा, कृषि विकास शाखा प्रमुख प्रदिप रेग्मी लगायत विभिन्न जनप्रतिनिधि, कर्मचारी तथा लाभार्थी कृषकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रम अन्तर्गत स्थानीय किसान, सहकारी संस्था तथा कृषि समूहलाई ५०% अनुदानमा आधुनिक कृषि उपकरणहरू वितरण गरिएको हो।
कृषि विकास शाखाको अनुसार, निम्न यन्त्र तथा उपकरणहरू वितरण गरिएको छ:
१९ वटा हाते ट्याक्टर
७१ वटा स्प्रे पम्प
७९ वटा ज्याब प्लान्टर
१ वटा कम्बाइन मिल
१ वटा पानी तान्ने पम्प
४१ वटा मकै छोडाउने मेसिन

कार्यक्रममार्फत यान्त्रिकीकरणलाई प्रोत्साहन दिई कृषिमा आधुनिकता भित्र्याउने र कृषकहरूको श्रम र समय बचतसँगै उत्पादनमा वृद्धि ल्याउने अपेक्षा गरिएको छ।
हेटौंडा उपमहानगरपालिकाले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै कृषि क्षेत्रको समृद्धिमा टेवा पुर्याउने प्रतिबद्धता जनाएको छ।