प्युठान - ऐरावती गाउँपालिका–५ बालिबिसौनामा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ भने चालक घाइते भएका छन्।
मंगलवार साँझ गोठिबाङ खोलाबाट ढुंगा बोकेर मल्लरानी–३ चौरपानीतर्फ जाँदै गरेको रा. १ त ४४४५ नम्बरको ट्याक्टर दुर्घटना भएको हो। दुर्घटनामा ऐरावती–२, तेस्रापाटाका २७ वर्षीय सहचालक बिजय सापकोटाको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक निरन्जन रिजालले जानकारी दिएका छन्।
सोही दुर्घटनामा परि २३ वर्षीय चालक शान्त बहादुर रावत घाइते भएका छन्। घाइते चालकको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार ट्याक्टर सडकबाट करिब २० मिटर तल खसेको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।