प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

एनपीएल: उपाधि भिडन्त नजिक, कार जित्ने होडमा दीपेन्द्र, रोहित र ललित

२०८१ पौष ४, बिहीबार ०८:२७ बजे


काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करण अन्तिम चरणमा प्रवेश गरेको छ। शनिबार हुने उपाधि भिडन्तका लागि सुदूरपश्चिम रोयल्स फाइनल पुगिसकेको छ भने दोस्रो फाइनलिस्ट बिहीबार हुने दोस्रो क्वालिफायरमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबीचको भिडन्तबाट टुंगो लाग्नेछ। एनपीएलका ३२ मध्ये ३० खेल सम्पन्न भइसकेका छन्।

सुदूरपश्चिमको दबदबा र दीपेन्द्रको उत्कृष्ट लय
सुदूरपश्चिम रोयल्सले उत्कृष्ट लयमा रहँदै समूह चरणदेखि मात्रै एक खेलमा पराजित हुँदै फाइनल यात्रा तय गरेको छ। टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी मुख्य आकर्षण बनेका छन्। विस्फोटक ब्याटिङ, कुशल स्पिन बलिङ र फिल्डिङका कारण दीपेन्द्र एनपीएलको उत्कृष्ट खेलाडीका प्रमुख दाबेदार बनेका छन्। ८ खेलमा २१८ रन बनाएका दीपेन्द्रले दुई पटक प्लेयर अफ द म्याचको उपाधि जितेका छन्।

विशेषगरी दीपेन्द्रले जनकपुरविरुद्ध पहिलो क्वालिफायरमा नटआउट २० रन र ३ विकेट लिएर टोलीलाई फाइनल पु¥याउन निर्णायक भूमिका खेले। उनलाई विश्व वरीयतामा दोस्रो स्थानमा पु¥याउने अलराउन्ड प्रदर्शन जारी एनपीएलमा पनि देखिएको छ।

रोहित पौडेलः उत्कृष्ट प्रदर्शन, तर टिम आउट
लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल एनपीएलका सर्वाधिक रन बनाउने नेपाली खेलाडी हुन्। समूह चरणका ७ खेलमा २७९ रन बनाएका रोहितको प्रदर्शन उत्कृष्ट रह्यो, तर उनको टोली समूह चरणमै बाहिरियो। व्यक्तिगत प्रदर्शनकै आधारमा उनी कार पुरस्कारका लागि बलियो दाबेदार मानिएका छन्। रोहितले चितवनविरुद्ध ८० रन बनाउँदै टोलीलाई एक मात्र जित दिलाए, तर अन्य खेलाडीको कमजोर प्रदर्शनका कारण लुम्बिनी लगातार पराजित हुँदै बाहिरियो।

ललितनारायण राजवंशीः उत्कृष्ट बलरको रेकर्डमा लक्ष्य
जनकपुर बोल्ट्सका ललितनारायण राजवंशी जारी एनपीएलका उत्कृष्ट बलर हुन्। उनले ८ खेलमा १४ विकेट लिएर नेपाली बलरमध्ये सबैभन्दा धेरै विकेटको कीर्तिमान राखेका छन्। अब दोस्रो क्वालिफायर र सम्भावित फाइनलमा उत्कृष्ट प्रदर्शन गरे उनी एनपीएलकै सर्वाधिक विकेट लिने बलर बन्ने सम्भावना छ।

ललितको बलिङले जनकपुरलाई क्वालिफायरसम्म ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको छ। काठमान्डुविरुद्ध उनले ४ ओभरमा मात्र ८ रन दिएर ३ विकेट हात पारे। अब बिहीबार कर्णालीविरुद्ध हुने खेलमा ललितको प्रदर्शन निर्णायक हुनेछ।

उपाधि र व्यक्तिगत पुरस्कारमा चासो
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार एनपीएल विजेताले १ करोड १० लाख रूपैयाँ पुरस्कार जित्नेछ। उपविजेताले ५१ लाख, तेस्रो हुने टोलीले २५ लाख, र चौथो स्थानको चितवन राइनोजले १५ लाख रूपैयाँ पाउनेछन्।

सर्वोत्कृष्ट नेपाली खेलाडीलाई कार पुरस्कार प्रदान गरिनेछ। दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, र ललितनारायण राजवंशी यस उपाधिका प्रमुख दाबेदारका रूपमा देखिएका छन्। अब बाँकी दुई खेलमा उनीहरूको प्रदर्शनले कार पुरस्कारको निर्णयमा महत्त्वपूर्ण भूमिका खेल्नेछ।

उपाधि भिडन्त शनिबार
शनिबार हुने उपाधि भिडन्तका लागि सुदूरपश्चिम रोयल्सले फाइनलमा स्थान पक्का गरिसकेको छ। बिहीबार हुने दोस्रो क्वालिफायरबाट जनकपुर बोल्ट्स र कर्णाली याक्समध्ये एक टोली फाइनलमा सुदूरपश्चिमको सामना गर्नेछ।

एनपीएलको यो रोमाञ्चक चरणमा क्रिकेटप्रेमीहरूले उत्कृष्ट खेलको अपेक्षा गरेका छन्।