प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

टीकाभैरव–हेटौंडा सडकखण्डमा यात्रा जोखिमपूर्ण:सडक जाम, हुस्सु र ग्यारेजको अभाव

२०८२ असार ९, सोमबार १६:४० बजे
हेटौंडा। लगातारको वर्षा, पहिरो र सडक निर्माणको कारणले टीकाभैरव–हेटौंडा सडकखण्डमा यात्रा जोखिमपूर्ण बनेको छ।
 
विशेष गरी वैकल्पिक मार्गका रूपमा प्रयोगमा आइरहेको यस सडकखण्डमा यात्रु तथा चालकहरू समस्यामा परेका छन्।
 
टीकाभैरवदेखि भिमफेदी (बागमती पुलसम्म) का विभिन्न स्थानहरूमा पहिरो झरेका कारण सवारी साधनहरू फस्ने र लामो समयसम्म जाममा पर्नु परेको छ ।
सडक खुलाउन डोजर प्रयोग गरिए पनि लगातारको वर्षाले काममा अवरोध पुगेको छ। वर्षासँगै रातिको समयमा बाक्लो हुस्सु लाग्ने हुँदा सडक देखिन नसक्ने अवस्था छ।
 
यसले गर्दा सवारी दुर्घटनाको सम्भावना बढेको र रातिको यात्रा अत्यन्त जोखिमपूर्ण बनेको यात्रुहरूले गुनासो गरेका छन् ।भिमफेदी (बागमती खोला) देखि मकवानपुरगढीसम्मको क्षेत्रमा सुख्खा पहिरो झर्ने क्रम जारी छ।
 
यस क्षेत्रमा सडक स्तरोन्नतिको काम पनि चलिरहेकाले आवतजावतमा थप समस्या देखिएको छ। निर्माण कार्यका कारण कतिपय ठाउँमा एकतर्फी मात्रै सवारी चलाउन दिइएको छ ।
 
त्यसैगरी, छपेलीदेखि मकवानपुरसम्मको सडकखण्डमा पेट्रोल पम्प र ग्यारेजको सुविधा नभएकोले आकस्मिक समयमा यात्रुहरू मर्कामा परेका छन् । टायर पन्चर वा सवारी बिग्रिँदा सहयोग पाउन कठिन हुने भएकाले यात्रा अघि तयारीसाथ जान सुझाव दिइएको छ ।
 
सिन्धुली सडकखण्ड अन्तर्गत रोशी खोलाको बहाव बढेपछि राति ६ बजेदेखि बिहान ५:३० बजेसम्म सवारी चलाउन रोक लगाइएको छ। यसले गर्दा धेरै यात्रुहरू कान्ति लोकपथ (टीकाभैरव–हेटौंडा) प्रयोग गर्न बाध्य भएका छन्।
 
तर यो सडकको अवस्था पनि कमजोर रहेकाले सतर्कताका साथ मात्र यात्रा गर्न सरोकारवालाहरूले आग्रह गरेका छन्।सडक विभाग र स्थानीय प्रशासनले पहिरो पन्छाउने तथा सडक मर्मत कार्य तीव्र बनाएको जनाएको छ।
 
यात्रुहरूलाई आवश्यकता बाहेक रातिको समयमा यात्रा नगर्न र वैकल्पिक तयारीसहित मात्र गन्तव्यतर्फ जान अनुरोध गरिएको छ।
 
तस्बिर: फेसबुक