काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल राष्ट्रपति निवास शीतल निवास पुगेका छन् ।आइतबार दिउँसो ओली निवास बालकोटको बैठकबाट सात दलको सहमति लिएर प्रधानमन्त्रीको दाबी गर्न ओली र दाहाल राष्ट्रपति निवास पुगेका हुन् ।
नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी लगायत दलले दाहालको नेतृत्वको सरकारलाई समर्थन रहेको छ । नयाँ गठबन्धन दलहरूको बैठकबाट माओवादी केन्द्रका अध्यक्ष दाहाललाई साढे २ वर्षका लागि प्रधानमन्त्री बनाउने सहमति भएको छ । त्यसपछि साढे २ वर्ष सरकारको नेतृत्व एमालेले गर्ने सहमति भएको छ ।
प्रतिनिधिसभाको दोस्रो ठूलो दल एमालेसँग ७८ सांसद छ । माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपा १२, जनमत पार्टी ६ र नागरिक उन्मुक्ति पार्टीका ४ सांसद जोड्दा १६६ सांसद हुन्छ ।