हेटौंडा - आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य प्रत्यक्षतर्फ निर्वाचनको लागि मकवानपुरमा मुख्य राजनीति दलले उम्मेदवार टुंगो लगाएका छन्। नेकपा एमाले, माओवादी, राप्रपा, नेपाली काङ्ग्रेस र राष्ट्रिय स्वतन्त्र लगाएत पार्टीले उम्मेदवारको टुंगो लगाएको हो ।
गत स्थानीय चुनावमा गठबन्धन हाबी भएपछि एमाले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यमा नयाँ अनुहारलाई मौका दिएको छ ।एमालेले प्रतिनिधि सभा क्षेत्र नं १ मा केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज रामेश्वर राना र क्षेत्र नं २ मा एमाले बागमती प्रदेश कमिटीका उपसचिव महेश बर्तौलालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
यद्दपी क्षेत्र नम्बर १ मा सुर्य चुनाव चिन्ह लिएर राप्रपा नेपालका अध्यक्ष कमल थापा चुनाव लड्ने बताइएकाे छ । तर, आधिकारिक रुपमा निर्णय सार्वजनिक हुन भने बाकी छ ।
त्यस्तै क्षेत्र नं १ को प्रदेश सभा (क) एमालेका बागमती प्रदेश सदस्य कमल बहादुर विष्ट र प्रदेश सभा (ख) मा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।यसैगरी प्रतिनिधीसभा क्षेत्र नम्बर–२ को (क) मा बिष्णु ढुकाल र (ख) मा लालबहादुर थापालाई उम्मेदवार बनाउने निर्णय भएको छ ।
त्यस्तै नेपाली काग्रेसको तर्फबाट प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा गठबन्धनको तर्फबाट सहमहामन्त्री महालक्ष्मी उपाध्याय `डिना´ उम्मेदवार बनाउने निर्णय पार्टीले गरेको छ । क्षेत्र नम्बर १ को प्रदेशसभा (ख) मा आनन्दराम पराजुली र क्षेत्र नम्बर २ को (ख) मा बागमती प्रदेश सभापति ईन्द्र बहादुर बानियाँलाई उम्मेदवार बनाएको छ ।
उता अर्को गठबन्धन दल नेकपा एकिकृत समाजवादीले स्थायी कमिटी सदस्य तथा पुर्व स्वास्थ्यमन्त्री बिरोध खतिवडालाई उम्मेदवार बनाएकाे छ । प्रदेशसभातर्फ एकीकृत समाजवादीले एक क्षेत्र पनि पाएन ।
गठबन्धनमै रहेको नेकपा माओवादीले जिल्लाको प्रतिनिधिसभा दुई निर्वाचन क्षेत्रमध्ये एक आफ्नो हुनुपर्ने दावि गरेपनि टिकट बाँडफाडको क्रममा एक पनि क्षेत्र पाएन । माओवादी केन्द्रको भागमा परेको प्रतिनिधि सभा क्षेत्र नंबर १ को ‘क’ बाट प्रेमबहादुर पुलामी छिन्तु तथा २ को क बाट कुमारी मोक्तानले टिकट पाएका छन् । उनिहरु दुबैजना यस अघि पनि सोहि क्षेत्रबाट विजयी भएका थिए । मोक्तान हाल बागमती प्रदेश सरकारको समाजिक विकास मन्त्री हुन् ।
राप्रपाले मकवानपुर क्षेत्र नं. १ प्रतिनिधि सभातर्फ दिपक बहादुर सिंह र क्षेत्र नं. २ प्रतिनिधि सभातर्फ राजन मैनालीलाई उम्मेदवार बनाएको छ । त्यस्तै क्षेत्र नं. १ को (क) प्रदेश सभातर्फ सागर थापा, (ख) प्रदेश सभा तर्फ गुञ्जन बहादुर न्यौपाने "सारथि", क्षेत्र नं. २ (क) प्रदेश सभा बद्रि बहादुर खड्का र (ख) प्रदेश सभा तर्फ राम बहादुर घले रहेका छन ।
उता राष्ट्रिय स्वतन्त्र पार्टीले क्षेत्र नं. १ प्रतिनिधि सभातर्फ सुरेन्द्र भट्टराई र क्षेत्र नं. २ मा भरत पराजुलीले उम्मेदवारी दिनेछन् । स्वतन्त्र पार्टीले प्रदेश सभातर्फ कुनै पनि उम्मेदवार नदिने जनाएको छ ।
उनीहरूले हेटौंडा उपमहानगरपालिका -२ स्थीत मुख्य निर्वाचन अधिकृत कार्यालयमा पुगेर मनोनयनपत्र दर्ता गर्दै छन् । प्रतिनिधि सभा र प्रदेश सभाका लागि मनोनयनपत्र दर्ता आज (आइतबार) अर्थात आश्विन २३ गते आइतबार बिहान १० बजे देखि सॅाझ ५ बजे सम्म चल्नेछ ।
जिल्लामा प्रत्यक्ष तर्फ प्रतिनिधि सभाको दुईवटा र प्रदेश सभाका चारवटा निर्वाचन क्षेत्र रहेका छन् ।३ लाख ७ ३३ जना कुल मतदाता संख्या रहेको मकवानपुरमा २६७ मतदान स्थल रहेका छन् भने ३६४ वटा मतदान केन्द्रहरु तोकिएको छ । जसमा निर्वाचन क्षेत्र नम्वर १ मा ६२ वटा मतदानस्थल, १७२ वटा मतदान केन्द्र तोकिएको छ भने क्षेत्र नम्वर २ मा १०५ वटा मतदानस्थल र १९२ वटा मतदान केन्द्र तोकिएको छ।