प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

२०७९ मंसिर १४, बुधबार ०८:५७ बजे

हेटौंडा – महोत्तरी, पर्सा र मोरङमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

महोत्तरीको पिपरा गाउँपालिका ५ चाँदनी चोकमा आज भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । बिहान साढे ११ बजे ज ८ प ५३ ६५ नम्बरको मोटरसाइकल र मधेश प्रदेश ०२ ००६ प २०४ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाएको थियो । ५३६५ नम्बरको मोटरसाइकल चालक धनुषाको धनौजी गाउँपालिका ४ भडरिया बस्ने २४ वर्षीय पवन कुमार मण्डलको मृत्यु भएको हो । गम्भीर घाइते भएका मण्डलको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यस्तै पर्साको सखुवा प्रसौनी गाउँपालिका ५ टाली चोकमा ट्याक्टरको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साकै बहुदरमाई नगरपालिका ८ रामनगरीका ४५ वर्षीय तपसी साह कानु रहेका छन् । रामनगरीबाट महुवनतर्फ जाँदै गरेको ट्याक्टरले विपरिति दिशातर्फ ठेला लिएर जाँदै गरेका साहलाई हिजो बेलुकी पौने ९ बजे ठक्कर दिएको थियो । शंकास्पद एउटा ट्याक्टर सहित चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाको अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

त्यसैगरी मोरङको कानेपोखरी गाउँपालिका ७ मा गएराति सवारी साधनको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । नम्बर खुल्न नसकेको सवारी साधनले साइकलमा सवार मोरङकै पथरी शनिश्चरे नगरपालिका १० का ४० वर्षीय युवराज खत्रीलाई ठक्कर दिएको थियो । पथरी अस्पतालमा उपचारको क्रममा गएराति सवा १० बजे खत्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

काठमाण्डौको बिजुली बजारमा आज बिहानै भएको सवारी दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । बा ६ च ३४ २९ नम्बरको बोलेरी जीप र बाग्ममी प्रदेश ०२ ०२२ प ७० ७६ नम्बरको मोटरसाइकल आज बिहान पौने ६ बजे आपसमा ठोकिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक काठमाडाँैको बसन्तपुर बस्ने २६ वर्षीय विवेक डंगोलको उपचार माइतीघर स्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।