प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

प्रचण्डविरुद्धको मुद्दामा सर्वोच्चले दियो यस्तो आदेश (आदेशसहित)

२०७९ फाल्गुन २६, शुक्रबार ११:५४ बजे

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध दायर मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले निवेदकको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गरी अनुसन्धान गरी पाऊँ भनी अधिवक्ता ज्ञानेन्द्र आरणलगायतले सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।

संक्रमणकालिन न्यायसँग जोडिएको विषयमा रिट निवेदन दर्ता भएको र यस मामिलामा पटक–पटक व्याख्या भएको भन्दै सर्वोच्च अदालतले पूर्ण सुनुवाइपछि मात्रै मुद्दाको कानूनी प्रश्नहरुको निरुपण हुने आदेश गरेको हो ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासको आदेशमा भनिएको छ, ‘अहिले माग बमोजिम अन्तरिम आदेश जारी हुनेसम्मको पर्याप्त कारण नदेखिएको हुँदा अन्तरिम आदेश जारी गर्न परेन।’

तर सर्वोच्च अदालतले दुवै मुद्दालाई अग्राधिकार दिन आदेश दिएको छ । कुनै पनि मुद्दाको छिटोछरितो न्यायनिरुपण गर्नुपरेमा अग्राधिकार दिने आदेश हुन्छ । सर्वोच्च अदालतले रिट निवेदनमा उठाइएको विषयको महत्व, गम्भीरता र संवेदनशीलतालाई आधार मानेर अग्राधिकारको आदेश गरेको हो ।