हेटौंडा – श्री एकता बुद्ध वचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम हिनामिना गर्ने कार्यमा संलग्न छ जना पक्राउ पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका-९ बस्ने ७२ वर्षीय भानु कुमार शर्मा, ६७ वर्षीय प्रमोद कुमार न्यौपाने, ५० वर्षीय सोमलाल श्रेष्ठ, ५२ वर्षीय वीर बहादुर तामाङ, सोही नगरपालिका-८ बस्ने ३४ वर्षीय शम्भु कार्की र सोही नगरपालिका-९ बस्ने गोरखा पालुङटार नगरपालिका-७ घर भएका ५८ वर्षीय राम कुमार श्रेष्ठ रहेका छन् ।
उनीहरुले बुढानिलकण्ठ नगरपालिका–९ स्थित रहेको सहकारीको ८ करोड १८ लाख ८९ हजार ७ सय ९५ रूपैयाँ हिनामिना गरेको आरोप छ । उक्त संस्थाका बचत कर्ताहरुबाट मुद्दती तथा बचत खातामा करोडौं रुपैयाँ निक्षेप संकलन गरी संस्थाका संचालकहरुले व्यक्तिगत लाभका लागि प्रयोगको र सहकारी ऐन, २०७४ विपरीतका काम गरी संस्थालाई धरासायी बनाएको उनीहरुमाथि आरोप छ ।
बचतकर्ताहरुले बचत गरेको रकम फिर्ता लिन जाँदा मुद्दती खातामा रहेको रकमको भुक्तानी मिति नाघेपछि पनि फिर्ता नगरी संस्थाले गरेको ठूलो धनरासीको अपचलनलाई ढाकछोप गर्ने गरी संस्थाका पदाधिकारीहरुले बचतकर्ताहरुलाई प्रलोभनमा पारी ठगी गरेको प्रहरीले जनाएको छ । उनीहरुमाथि आवश्यक अनुसन्धान तथा कारवाहीको लागि बागमती प्रदेश सरकार पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, सहकारी महाशाखाबाट पत्रचार भएपछि केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उक्त रकम ठगी गर्ने कार्यमा संलग्न उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।