प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

किन पक्राउ परे अभिनेता अनमोल ?

२०८० आश्विन १२, शुक्रबार १८:४१ बजे

काठमाडौं – अभिनेता अनमोल केसीलाई प्रहरीले पक्राउ गरेको छ । अपराधिक विश्वासघात मुद्दामा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले साँगाबाट उनलाई पक्राउ गरेको हो ।

उनीविरुद्ध आपराधिक विश्वासघात गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो। रावायण नामक फिल्मका निर्माता समूहले केसीविरुद्ध आपराधिक विश्वासघातको कसुरमा किटानी जाहेरी दिएका हुन् ।

सोही उजरीको आधारमा केसीलाई भक्तपुरको साँगाबाट साँझ साढे ५ बजे नियन्त्रणमा लिइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए । उनका अनुसार केसीले फिल्म खेल्छु भनेर उक्त १० लाख रुपैया बैंक ट्रान्सफरमार्फत लिएका थिए ।

फिल्म निर्माण पक्षका अनुसार केसीले रावायण नामक फिल्म खेल्नका लागि १० लाख रुपैयाँ लगेका थिए । तर सम्झौता गर्न नमानेपछि उजुरी दिएको बताईएको छ । फिल्मका अरू कलाकारलाई पनि एडभान्स दिँदा १ करोड १५ लाख खर्च भएको निर्माण पक्षले जनाएको छ ।

पैसा लिएर सम्झौता नगरेको र फिल्म सुटिङमा पनि नआएको भन्दै उजुरी परेको हो । जाहेरीको विषयमा छलफलका लागि बोलाउँदा समेत उपस्थित नभएपछि पक्राउ पूर्जी जारी गरेर नियन्त्रणमा लिईएको एसएसपी राठौरेले बताएका छन् ।

उनी चलचित्र विकास बोर्डका अध्यक्ष भूवन केसीका छोरा हुन् । उनलाई पक्राउ गरी हिरासतमा राखिएको एसएसपी राठौरेले जानकारी दिए।