प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बागमतीको भरत ताल बनाउदा ३० करोड अनियमिता भएको भन्दै मेयरसहित ६ जनाविरुद्ध मुद्धा दायर

२०८१ जेठ २९, मंगलबार १९:३६ बजे

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकाका नगर प्रमुख भारत कुमार थापासहित ६ जनाविरुद्ध आरोप पत्र दायर गरेको छ । अख्तियारले मेयर थापासहित ६ जनाले संघीय सरकारको स्वीकृति बिना माछा पोखरी (भारत ताल) निर्माणका लागि ढुंगा, बालुवा उत्खनन गरेर ३० करोड २९ लाख ३४ हजार ८९७ रकम अनियमितता गरेको भन्दै मुद्धा दायर गरेको जनाएको छ ।

संघीय सरकार अन्तर्गतको सागरनाथ वन विकास परियोजना अन्तर्गतको वन क्षेत्रमा सागरनाथ वन विकास परियोजना र संघीय सरकारको स्वीकृत विना अनाधिकृत रुपमा माछा पोखरी निर्माणको लागि भनी ढुङ्गा गिट्टी बालुवा (वन पैदावार) उत्खनन् गर्नको लागि प्रारम्भिक परीक्षण प्रतिवेदन स्वीकृत भएको भन्ने गलत लिखत तयार गरीरगराई सोपश्चात बागमती नगरकार्यपालिकाबाट उक्त माछा पोखरीको प्रोजेक्ट रिपोर्ट तयार गरेको देखाई बहुउद्देशीय माछा पोखरी निर्माण गर्ने कार्यको गुरु योजना स्वीकृतसमेत नगरीरनगराई, बागमती नदीको वहाव प्रयोग गर्न स्वीकृति नलिई माछा पोखरी (हाल ताल) निर्माण गर्ने भनी सागरनाथ वन विकास परियोजना अन्तर्गतको वन क्षेत्रमा उक्त परियोजनारनेपाल सरकारको स्वीकृत विना बागमती नगरपालिकाले बागमती माछा पोखरी बनाउने क्रममा ३० करोड २९ लाख ३४ हजार ८९७ रकम रकम हानिनोक्सानी गराएको पुष्टि भएको अख्तियारले जनाएको छ ।

अख्तियारले हाल निलम्बित मेयर थापा सहित तत्कालिन प्रमुख प्रशासकीय अधिकृत विमल कुमार पोखरेल, योजना शाखाका प्रमुख इन्जिनियर सागर पौडेल, तत्कालिन लेखा अधिकृत विश्वराज पोखरेल र जिल्ला समन्वय समिति सर्लाहीका तत्कालिन प्रमुख मथुर चौधरीलाई आरोपी बनाएको छ ।