प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

कांग्रेस र एमालेले राष्ट्रिय दायित्व निर्वाह गर्ने आँट गर्न सक्छ ?: कमल थापा

२०७९ मंसिर २१, बुधबार १३:४६ बजे

हेटौंडा – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले कांग्रेस र एमाले मिलेर सरकार चलाउन सुझाव दिएका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले राजनीतिमा च्याँखे थापेर स्वार्थसिद्ध गर्न चाहने अवसरवादीहरूलाई निरुत्साहित गर्न यस्तो सरकार आवश्यक भएको बताएका छन् ।

कांग्रेस र एमालेको संयुक्त सरकार बनेको अवस्थामा युवाहरुको नवोदित राजनीतिक दलहरुले पनि प्रतिपक्षमा रहेर सरकारलाई खवरदारी गर्ने, भविष्यमा राष्ट्रको नेतृत्व लिने अनुभव हासिल गर्न बताएका छन् ।

कांग्रेस र एमालेले संयुक्त सरकार बनाएर संविधान निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उनले स्मरण गरेका छन् ।  ‘के नेपाली कांग्रेस र नेकपा(एमाले)ले यो समयको माग र राष्ट्रिय दायित्व निर्वाह गर्ने आँट गर्न सक्छ ? मलाई विश्वास त लागेको छैन,’ उनले लेखेका छन।

चुनावमा खर्चपानी दिने र गठवन्धन निर्माणमा सहयोगी भूमिका खेल्ने देशी–विदेशी शक्तिहरुले नेपालको भलो हुने, नेपालमा शान्ति र स्थायित्व कायम हुने काम गर्न नदिने उनको तर्क छ । देशीविदेशी शक्तिहरुको प्रभावबाट नेपालका दलहरु मुक्त हुन सक्ने वा नसक्ने भन्ने कुरा चाँडै नै थाहा हुने उनको भनाई छ ।