काठमाडौं – पोखरामा ६ वर्षीय एक बालिकाको कानको मुन्द्रा र खुत्रुकेको पैसा चोरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा पर्वतको मोदी गाउँपालिका ६ घर भई हाल पोखरा ४, गणेशटोल बस्ने ३४ वर्षीय टीका श्रेष्ठ रहेकी छन्। प्रहरीका अनुसार श्रेष्ठले पुस २० गते पोखरा महानगर १२, शीतलादेवीमा एक बालिकाको सुनको मुन्द्रा तथा खुत्रुकेमा रहेको २ हजार २४० रुपैयाँ चोरी गरेकी थिइन्। चोरी पश्चात उनी फरार थिइन्।
श्रेष्ठलाई चोरी गरेको २ थान मुन्द्रा र रकमसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकले बताए। प्रहरीका अनुसार बालबालिका तथा महिलालाई ललाइफकाइ ठगेको आरोपमा उनले यसअघि पटके कारबाही भोगिसकेकी छन्। उनले यसअघि पनि पटकपटक गरेर १२ जनाभन्दा बढीको सुनका गरगहना चोरी गरेको आरोपमा कैद भुक्तान गरिसकेको प्रहरीले जनाएको छ।