प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

ट्रकमा च्यापिएर चालक तामाङको मृत्यु

२०८१ पौष २, मंगलबार ०८:२७ बजे

काठमाडौं – इलामको माङ्सेबुङ गाउँपालिका–३ सल्लेरीमा आज बिहान ट्रकमा च्यापिएर चालकको मृत्यु भएको छ। पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारापाका ३८ वर्षीय ट्रक चालक कुमार तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

ना ३ ख ६०३७ नम्बरको काठ बोकेको ट्रक रवि–दमक सडकखण्डमा बिग्रिएपछि चालक तामाङले त्यसको मर्मत गर्ने क्रममा दुर्घटना भएको हो। प्रहरीका अनुसार ट्रकको चक्काको नटबोल्ट भाँचिएपछि उनले जगको सहायताले ट्रक उठाएर मर्मत गरिरहेका थिए। मर्मतको क्रममा जग भासिएपछि उनी ट्रकले च्यापिएका थिए।

घटनास्थलमा तत्कालै उद्धार प्रयास गरिए पनि उनको आज बिहान ५ बजे मृत्यु भएको प्रहरी नायव उपरीक्षक (डिएसपी) मानबहादुर राईले जानकारी दिए।