प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

बारामा दुई ट्रक ठोक्किँदा चालक स्टेरिङमा च्यापिए, ३ घण्टापछि सकुशल उद्धार

२०८२ असार १६, सोमबार १८:१४ बजे

बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका–२१ स्थित चुरियामाई मन्दिर नजिकै दुई ट्रक एकआपसमा ठोक्किँदा एक चालक स्टेरिङमा च्यापिएर घाइते भएका छन्। करिब तीन घण्टापछि सशस्त्र प्रहरीले उनलाई सकुशल उद्धार गरेको हो।

घटनास्थल जङ्गल क्षेत्रमा पर्ने भएकाले उद्धार कार्यमा कठिनाइ भएको थियो। आइतबार राति एउटै दिशातर्फ जाँदै गरेका ना ७ ख ७३०१ नम्बरको ट्रक र ना ६ ख ३७६३ नम्बरको ट्रक एकआपसमा ठोक्किँदा दुबै ट्रक सडकको बायाँतर्फ पल्टिएका थिए।

दुर्घटनामा चितवन, भरतपुर–१६ निवासी करिब ३५ वर्षीय ट्रक चालक अरुण श्रेष्ठ स्टेरिङमा च्यापिएर घाइते भएका थिए। सशस्त्र प्रहरी बल नेपाल १४ नम्बर गण मकवानपुरबाट खटिएको प्रहरी निरीक्षक अनिल कार्कीको नेतृत्वमा गएको टोलीले ट्रकको झ्याल काटेर श्रेष्ठलाई उद्धार गरेको हो।

घाइते श्रेष्ठलाई उपचारका लागि जिल्ला अस्पताल हेटौँडातर्फ पठाइएको प्रहरीले जनाएको छ। अर्का ट्रक चालक सामान्य अवस्थामा रहेका छन् भने दुवै ट्रकमा चालकबाहेक अन्य कोही नरहेको बताइएको छ।