प्रहर खबर
 २०८३ जेष्ठ २१, बिहीवार    

आज पनि दशैंको टीका लगाउने क्रम जारी

२०७९ आश्विन २०, बिहीबार ०२:३० बजे

काठमाडौं – आज विजयादशमीको टीकाको दोस्रो दिन । आज पनि मान्यजनबाट टीका, जमरा र आशिर्वाद ग्रहण गर्ने क्रम जारी छ ।

विजयादशमीको टीका लगाउन नपाएका वा नभ्याएकाहरुले आज पनि मान्यजनको हातबाट टीका, जमरा र आशिर्वाद लिंदैछन् ।

आश्विन शुक्ल दशमी अर्थात् विजयादशमीदेखि शुरू भएको यो क्रम आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन सबै (अखिल) बलि पूर्ति नभएसम्म जारी रहन्छ ।

घटस्थापनाका दिन दशैंघरमा विधिपूर्वक स्थापना गरी नौ दिनसम्म दुर्गा भवानीको पूजा आराधना गरिएको टीका, जमरा र प्रसाद कोजाग्रत पूर्णिमाका दिनसम्म आफूभन्दा अग्रजको हातबाट थापेर आर्शिवाद लिइने परम्परा छ ।

मान्यजनले टीका लगाइदिंदा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने जनविश्वास पनि छ । कोजाग्रत पूर्णिमाका दिन रातभर जाग्राम बसी धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरेपछि १५ दिन लामो दुर्गा पक्ष अर्थात् नेपालीको महान् पर्व बडादशैं समाप्त हुन्छ ।