काठमाडौं – सप्तरीको कन्चनरूप नगरपालिका–३ बरमझिया बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आइतबार बिहान बरमझियास्थित सडकमा प्र १–०१–००१ ख ४१२६ नम्बरको बसले स.५ प १५९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
ठक्करपछि बस अनियन्त्रित भएर पल्टिँदा बसमा सवार एक जना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ। धनकुटा साँगुरीगढी गाउँपालिका-४ बस्ने ५४ वर्षीया मैया राईको घटनास्थलमै मृत्यु भएको हो।
साथै दुर्घटनामा घाइते भएका बसमा सवार २२ जनामध्ये १७ जनाको धर्मेश्वर अस्पताल ठेलिया सप्तरी, २ जनाको कञ्चनपुर अस्पताल सप्तरी, २ जनाको न्यूरो अस्पताल विराटनगर मोरङ र १ जनाको नोबेल अस्पताल विराटनगर मोरङमा उपचार भइरहेको छ।
हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।