प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

शिक्षकहरू बानेश्वर पुगे, सडकमा सुते

२०८० आश्विन ८, सोमबार ०८:०१ बजे

काठमाडौँ – नेपाल शिक्षक महासंघ र सरकारबीच सहमति भए पनि राहत शिक्षकहरूले आफ्नो आन्दोलन जारी नै राखेका छन् ।  सहमतिको विरोध राहत शिक्षक र पेन्सन वञ्चित शिक्षक आन्दोलनमा उत्रिएका हुन् ।

राहत शिक्षक र पेन्सन वञ्चित शिक्षकहरुले बानेश्वरको सडकमा सुतेर प्रदर्शन गरेका छन् । सरकारले सहमति गर्दा राहत शिक्षकका मागहरूको सम्बोधन नगरेको भन्दै उनीहरूले काठमाडौंको बबरमहलमा आज सुतेर प्रदर्शन गरेका हुन् ।

नेपाल राहत शिक्षक केन्द्रीय समितिले असोज ५ गते नेपाल शिक्षक महासंघ र सरकारबिच भएको सम्झौता भएको थियो । राहत शिक्षकसँगै, बाल शिक्षक, विद्यालय कर्मचारीहरूको माग सम्बोधन नभएको उनीहरुको भनाई छ । 

सरकारले शिक्षक कर्मचारीहरूलाई गुमराहमा राखेको र झारो टार्न यो सहमति गरेको भन्दै राहत शिक्षकको आपत्ति छ। उक्त  सहमतिले आम शिक्षक कर्मचारीको मानमर्दन भएको र सो सम्झौताको विरुद्ध भण्डाफोर गर्दै सम्पूर्ण राहत शिक्षकको स्थायी व्यवस्थापनका लागि आन्दोलन जारी राख्ने बताएको छ ।

 त्यस्तै पेन्सन वञ्चित शिक्षक केन्द्रीय संघर्ष समितिले पनि सम्पूर्ण शिक्षक कर्मचारीको माग र मुद्दालाई सरकारले सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने निर्णय गरेको छ ।