प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

नेकपा एमालेको स्कुलमा आजदेखि पढाई सुरु

२०७९ भाद्र २, बिहीबार ०५:५७ बजे

काठमाडौं – नेकपा (एमाले) केन्द्रीय स्कुल विभागले आफ्नो बार्षिक कार्ययोजना अन्तर्गत आजदेखि कार्यकर्ताका लागि पार्टी कार्यालयमा पार्टी स्कुल (बिषयगत प्रशिक्षण) शुरू गरेको छ ।

नेकपा (एमाले)  को जनसंगठन अखिल नेपाल किसान महासंघका सदस्यहरू आज शुरू भएको पहिलो लटको स्कूलमा सहभागी भएका छन् । उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवाली र उपप्रमुख ईश्वरी रिजालले सहभागीहरूलाई प्रशिक्षण दिएका छन् ।

प्रशिक्षण जनसंगठनबाट शुरू गर्न लागिएको हो । प्रशिक्षण तीनदिने हुने छ भने सहभागिता सङ्ख्या चालीस निर्धारण गरिएको छ । क्रमशः सबै जनसंगठनलाई प्रशिक्षण दिइने र भदौभरमा सात्आठवटा जनसंगठनका पदाधिकारी तथा सदस्यहरूलाई प्रशिक्षण दिइसक्ने योजना रहेको उपमहासचिव ज्ञवालीले वताए ।

प्रशिक्षणमा मार्क्सवादी दर्शन र पार्टी जीवनमा त्यसको प्रयोग, जनताको बहुदलीय जनवाद र समृद्ध नेपालको निर्माण, पार्टीको दशौं महाधिवेशनको कार्यदिशा, आजको सन्दर्भमा संगठनात्मक व्यवस्थापन र पार्टी जीवनमा सूचना प्रविधिको प्रयोग लगायतका विषयमा नेताहरूले प्रशिक्षण दिने छन् ।

नेकपा (एमाले) मा स्थानीय निर्वाचन अघि र त्यसपछि पनि निरन्तर पार्टी प्रवेश चलिरहेको र अहिले पार्टीमा हजारौंको संख्यामा नवप्रवेशी रहेकाले उनीहरूलाई पनि पार्टीले प्रशिक्षण दिने भएको छ ।

उपमहासचिव ज्ञवालीले नवप्रवेशी साथीहरूलाई लक्ष्यित गरेर अर्को प्रशिक्षण चलाउने निर्णय गरिएको वताए । उनले भने– ‘नवप्रवेशी साथीहरूलाई एमालेको काम गर्ने शैली, संस्कार, मूल्य–मान्यता लगायत विषयमा प्रशिक्षित गर्ने योजना रहेको छ ।’

विभागले आम निर्वाचनपछि आफ्नोे बार्षिक कार्ययोजना अन्तर्गतको निर्धारित कामलाई पुनः निरन्तरता दिने छ । पुसपछि प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ ।