प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मेस्सीले सन्यास लिने

२०७९ मंसिर २८, बुधबार ०५:५५ बजे

काठमाडौं – अर्जेन्टिनी सुपर स्टार तथा कप्तान लियोनल मेस्सीले फुटबलबाट सन्यास लिने बताएका छन् । अर्जेन्टिनाको डियारियो डिपोर्टिभो ओलेसँग कुरा गर्दै मेस्सीले कतार विश्वकपको फाइनल खेलेर सन्यास लिने बताएको विभिन्न अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले उल्लेख गरेका छन्।

मंगलबार राती क्रोएसियालाई ३–० गोलले हराएर अर्जेन्टिना विश्वकपको फाइनल पुगेको थियो। अर्जेन्टिनालाई फाइनलमा पु¥याउन जुलियन अल्भारेजले दुई र मेस्सीले एक गोल गरेका थिए ।

विश्वकपमा गाब्रिएल बाटिस्टुटाको नाममा रहेको १० गोलको कीर्तिमान तोडेका मेस्सीले हालसम्म विश्वकप उपाधि जित्न सकेका छैनन्। विश्वकपमा मेस्सीले अर्जेन्टिनाका लागि कीर्तिमानी ११ गोल गरेका छन् ।

मेस्सीले विश्वकपमा सर्वाधिक धेरै खेल खेल्ने खेलाडीको कीर्तिमानमा समेत बराबरी गरेका छन् । मेस्सीले जर्मनीका पूर्व मिडफिल्डर लोथर माथाउसको नाममा रहेको २५ खेलको कीर्तिमान बराबर गरेका हुन् ।

अर्जेन्टिना सन् १९८६ यता विश्व च्याम्पियन बन्न सकेको छैन। सन् २००५ देखि सिनियर अन्तर्राष्ट्रिय फुटबल खेल्दै आएका मेस्सीले गत वर्ष मात्र कोपा अमेरिका जितेर सिनियर राष्ट्रिय टोलीमा उपाधि खडेरी टारेका थिए।