रौतहट – रौतहट मौलापुर नगरपालिका–४ स्थित पतौरा टोलमा घरमै आमा छोरी मृत फेला परेका छन्। शनिबार बिहान स्थानीय २४ वर्षीया कविताकुमारी साह र उनकी २० महिनाकी छोरी आरोही मृत फेला परेका हुन्।
घरबाहिर कविता र घरभित्र पंखामा झुण्डिएको अवस्थामा उनकी २० महिने छोरी मृत भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कविताको घाँटीमा पनि सल बाँधिएको अवस्थामा छ। कविताको घरभित्र भेटिएको बाकसमा आगो लागेको र कपडाहरू जलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
अहिले शव पोस्टमर्टमका लागि अस्पताल लगिएको छ । कविताकी बाबु विजयशंकरलाई घटनाबारे बान तीन बजे कविताकै छिमेकीले फोनमार्फत जानकारी गराएका थिए। विवाहमा कबुलेको दाइजो नदिँदा छोरीलाई सासु र ज्वाँइले अढाई वर्षदेखि यातना दिँदै आएको विजयशंकरको आरोप छ।
मृत्युको कारण बारे प्रहरीले अनुसन्धान गरिरहेको छ । घटनापछि कविताकी श्रीमान धिरेन्द्र साह फरार छन् । उनकी सासु र जेठानीलाई नियन्त्रणमा लिइ सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।