प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित

२०८० असार १३, बुधबार १२:५९ बजे

काठमाडौँ – अर्थमन्त्री डा. प्रकाशशरण महतले जेठ १५ गते पेसले गरेको  आगामी आर्थिक वर्ष २०८०–०८१ का लागि प्रस्तुत गरेको बजेट प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । बुधवार प्रतिनिधिसभाको बैठकमा मत विभाजन प्रक्रियाबाट बजेट पारित गरिएको हो ।

मत विभाजनमा सहभागी २५५ सांसदमध्ये बजेटको पक्षमा १४७ मत र विपक्षमा मत १०८ मत परेको छ । कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी, लोकतान्त्रिक समाजवादी र नागरिक उन्मुक्ति पार्टीले* बजेटको पक्षमा मतदान गरेका छन् भने एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनमत र नेमकिपाले भने विपक्षमा मतदान गरेका छन् ।

सभामुखले ध्वनि मतको आधारमा बजेट पारित गर्ने प्रक्रिया अघि बढाउन लागेपछि एमालेले मत विभाजनको आधारमा प्रक्रिया अघि बढाउन सभामुखसँग माग गरेको थियो ।