प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

११ किलो सुन प्रकरणमा थप एक महिला पक्राउ

२०८० कार्तिक २८, मंगलबार ०७:४९ बजे

दोलखा – दोलखाको बिगु गाउँपालिका–१ जामुनेबाट बरामद भएको ११ किलो अवैध सुन अन्तर्राष्ट्रिय भुक्तानी क्रिप्टोमार्फत कारोबार भएको खुलेको छ । पटक पटक गरी बरामद भएको सो सुनको चीनमा करोडौँ भुक्तानी क्रिप्टोमार्फत भएको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी धर्मेशकुमार यादवले जानकारी दिए।

उहाँका अनुसार पछिल्लो अवधिमा सुन तस्करीहरूको रकम डलरमा साटेको आरोपमा रामेछापको मन्थली नगरपालिका–५ की महिमा माझिलाई पक्राउ गरिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीले निजलाई काठमाडौँबाट पक्राउ गरेको हो । सुन तस्करीहरूको रकम डलरमा साटेको आरोपमा निजलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेकी महिलालाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ । योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १५ पुगेको छ ।

लामा बगरको जामुनेबाट गत असोज महिनामा ११ किलो अवैध सुन बरामद गरेको प्रहरीले यो विषयमा अनुसन्धान गरिरहेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबी र दोलखा प्रहरीले गरिरहेको अनुसन्धानबाट सुन ओसारपसारमा संलग्न केही व्यक्ति अझै फरार रहेको पाइएको छ । उनीहरूको खोजी भइरहेको छ । पक्राउ परेकाहरू विरुद्ध सुन चोरी–पैठारी तथा सङ्गठित अपराधको कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।