पोखरा- सहकारीको रकम अपचलनको मुद्दाको बयानका लागि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई मंगलबार रूपन्देही लगिँदैछ।
प्रहरीले लामिछानेलाई रुपन्देही लैजानका लागि बिहानै एयरपोर्ट पुर्याएको छ। बुद्ध एयरको बिहान सात बजेको उडानबाट भैरहवा विमानस्थल हुँदै बुटवल लैजाने तयारी भए पनि विमानस्थलमा कुहिरो लागेकाले उडान ढिला भएको बताइएको छ। उनलाई आजै बयान सकेर कास्की फर्काउने प्रहरीको तयारी छ।
प्रहरीले बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा अनुसन्धान गर्न लामिछाने र जीवी राईसहित १२ जनालाई पक्राउ गर्न रुपन्देही जिल्ला अदालतबाट यसअघि नै अनुमति लिएको थियो।