काठमाडौं – संयुक्त राष्ट्रसंघको साधारणसभामा १४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पाशविक आक्रमणको निन्दा र भर्त्सना गर्दै खेद प्रस्ताव पारित गरेका छन् ।
नेपालले पनि उक्त प्रस्तावको पक्षमा मतदान गरेको छ । बुधबार भएको मतदानमा १९३ राष्ट्र मध्ये १ सय ४३ सदस्य राष्ट्रले भर्त्सना प्रस्तावको पक्षमा मतदान गरेका थिए ।
यसैगरी ३५ देश मतदानको समयमा अनुपस्थित रहेका थिए ।सिरिया, निकारगुवा, उत्तर कोरिया र बेलारुसले प्रस्तावको विपक्षमा मतदान गर्दा ३५ देश भने मतदानमा सहभागी नै भएनन् । मतदानमा सहभागी नहुने देशहरुमा भारत, चीन, पाकिस्तान, दक्षिण अफ्रिकालगायत रहेका छन् ।
उक्त प्रस्तावमा भनिएको छ, ‘रुसले गरेको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सीमाभित्र तथाकिथत रुपमा गरिएको जनमत सङ्ग्रहको निन्दा गर्दछौँ । साथै संयुक्त राष्ट्रसङ्घको सदस्य राष्ट्र र सङ्गठनले युक्रेनको सीमा परिवर्तनलाई मान्यता दिने छैन ।’ उक्त प्रस्तावको रुसले तुरुन्त र बिना शर्त निर्णय फिर्ता लिनसमेत माग गरिएको छ ।