हेटौंडा – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले समय,परिस्थिति र जनभावना अनुसार परिमार्जन हुन नसक्ने विचार वा संगठन जडसुत्रमा परिणत र पतन हुने बताएका छन् ।
हेटौंडामा दुईदिने वागमती प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला शुरु भएको जानकारी दिदै अध्यक्ष थापाले असंभव एजेण्डा बोकेर हिँडदा पार्टी ठूलो नहुने र हिन्दुराष्ट्र स्थापित पनि नहुने बताए ।
सामाजिक सन्जालमार्फत अध्यक्ष थापाले १५ वर्ष रगत पसिना बगाएपनि राजसंस्था पुनःस्थापना हुने संभावना देखिएको समेत बताए । “राजसंस्था पुनःस्थापनाको निम्ति हामीले १५ वर्ष रगत पसिना बगायौ, हाम्रो निरन्तरको प्रयासको वावजुद राजसंस्था पुनःस्थापना हुने संभावना देखिएन। यो देशको वर्तमान धरातलिय यथार्थ हो, तितो लागे पनि यो सत्यलाई चांडो स्विकार गर्नु बुद्धिमानी हुनेछ।” उनले लेखेका छन् ।
उनले अब जनता वा पार्टी कार्यकर्तालाई भ्रम र भुलभुलैयामा राख्नु वेईमानी हुने बताए । उनले लेखेका छन, “राजसंस्थाको योगदानलाई सम्मान गरौँ, सार्वभौम जनताको पक्षमा खडा हौँ, राष्ट्रवाद,लोकतन्त्र,हिन्दुराष्ट्र र उदार अर्थतन्त्रको जगमा समृद्ध नेपाल निर्माणको अभियानमा जुटौँ, देशको प्रत्येक वडामा पार्टी संगठन निर्माण गरौँ ।”
