प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

खोलामा डुबेर दुई जनाको मृत्यु

२०७९ भाद्र ३, शुक्रबार १२:४९ बजे

हेटौंडा – खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ ।

उदयपुरको ताप्लि गाउँपालिका १ स्थितमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । भाद्र १ गते बेलुका ६ बजे ताप्लि–१ मादलेका ३५ बर्षीय नगेन्द्र राई यारी खोलामा जाल हाली माछा मार्न गएकोमा २ गते बिहान दहमा डुबेर मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

जानकारी प्राप्त हुनासाथ घटना स्थलमा इलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी अधिकृतको टोली खटि मृतक लाशलाई पोष्टमार्टमको लागि कटारी अस्पताल पठाईएको र अन्य थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसैगरी शुक्रबार दिउँसो १ बजे मोरङको पथरी शनिश्चरे नगरपालिका–२ का बल बहादुर दर्जीको ८ बर्षीय छोरा अन्जान दर्जीको डुबेर मृत्यु भएको छ ।
साथीहरुसंग गोही खोलामा पौडी खेल्ने क्रममा उनको पानीमा डुबेको अवस्थामा फेला परेका थिए । उनलाई उपचारको लागि मोरङ अस्पताल पथरी लगेकोमा अस्पताल पुर्‍याउना साथ डाक्टरले मृत घोषणा गरेका थिए । घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय पथरीबाट थप अनुसन्धान भईरहेको छ ।