प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

पढ्दै कमाउँदै कार्यक्रमः लगानी विद्यालय र स्थानीय सरकारको, मुनाफा विद्यार्थीलाई

२०८० श्रावण १५, सोमबार ०७:०० बजे

तनहुँ – तनहुँको ऋषिङ गाउँपालिका–८ स्थित शिव सरस्वती माध्यमिक विद्यालयमा भेटेरिनरी जेटिए अध्ययनरत ऋषिराम थापा अध्ययनसँगै पशुपालनमा आबद्ध छन्। विद्यालयले सुरु गरेको पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत उनले पशुपालन गरेका छन्।

उनी बिहान ६:३० बजेदेखि ११ बजेसम्म पढाइमा व्यस्त हुन्छन्। त्यसपछिको समयमा फार्ममा काम गर्छन्। विद्यालय नजिकै विद्यालयकै जग्गामा फार्म बनाइएको छ। फार्ममा ब्रोइलर कुखुरा पाडा, बाख्रा पालिएको छ।

शिक्षकले पढाएका कुरा अभ्यासमा उतार्न थापाजस्तै १७ विद्यार्थी फार्ममा पुग्छन्। विद्यार्थी पशुलाई दाना पानीको व्यवस्थापनमा आफैं खटिन्छन्। पछिल्लो समय विद्यार्थीको दैनिकी प्रयोगात्मक सिकाइ र अभ्यासमा बित्दै आएको छ।

पाठ्यक्रममा आधारित पशुपालन र उपचार पद्धतिबारे अध्ययनरत विद्यार्थीले नजिकका टोलमा गई किसानले पालेका पशुचौपायाको औषधि उपचार पनि गर्छन्। उपचार पद्धति र प्रक्रियाबारे निपूर्ण हुनका लागि किसानका पशु चौपायाको उपचार गर्दा आत्मविश्वास बढ्ने उनी बताउँछन्।

प्राविधिक धारअन्तर्गत पर्ने १८ महिने (भेटेरिनरी जेटिए) पढ्ने विद्यार्थीले पढ्दै कमाउँदै कार्यक्रममार्फत आयआर्जन गर्न थालेका छन्।

फार्ममा पालिएका कुखुरापालनमा विद्यालयले लगानी गरेपनि मुनाफा भने विद्यार्थीले पाउने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर श्रेष्ठले जानकारी दिए।

‘पढ्दै कमाउँदै कार्यक्रम प्रभावकारी बनेको छ। समूहमा विभाजित विद्यार्थीले अहिले अध्ययन मात्र नभई एक सिजनमा मात्र प्रति विद्यार्थी पाँच हजारदेखि सात हजारसम्म कमाउने गरेका छन्,’ उनले भने।

पढ्दै कमाउँदै कार्यक्रमबाट भएको आम्दानीले विद्यार्थीलाई अध्ययनमा टेवा मिलेको अध्यक्ष श्रेष्ठ बताउँछन्। जिल्लाको आँबुखैरेनी गाउँपालिका–६ स्थित कन्यादेवी माध्यमिक विद्यालयका विद्यार्थीले पढ्दै कमाउँदै कार्यक्रममार्फत कुखुरापालन सुरु गरेका छन। प्रयोगात्मक शिक्षा अन्तर्गत विद्यालयका विद्यार्थीले स्थानीय जातको कुखुरापालन सुरु गरेका हुन्।

प्रधानाध्यापक सूर्यमानसिंह गुरूङका अनुसार विद्यालयको एउटा कोठामा दुई सय स्थानीय प्रजातिका कुखुरा पालिएको छ। गाउँपालिकाको एक वडा एक उत्पादन र पढ्दै कमाउँदै कार्यक्रममार्फत कुखुरापालन सुरु गरिएको हो। कुखुरालाई दानापानी गर्न विद्यार्थी नै खटिन्छन्। ‘यसले आत्मनिर्भर बन्न पनि सिकाएको छ,’ प्रधानाध्यापक सिंहले भने।

आँबुखैरेनी–४ आमडाँडाबेँसीस्थित चण्डेश्वरी आधारभूत विद्यालयमा पनि पढ्दै कमाउँदै कार्यक्रममार्फत अदुवाखेती गरिएको छ। विद्यालयस्तरका बालबालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यले पढ्दै कमाउँदै परियोजनाअन्तर्गत दुई रोपनी जग्गामा एक सय ७५ किलो अदुवा र एक सय ६५ किलो हलेदो रोपिएको छ।

विद्यार्थी आफैँले बारी खनेर अदुवा र हलेदो रोपेको विद्यालयका प्रधानाध्यापक कुवेर ढकालले जानकारी दिए। यो कार्यक्रमले विद्यार्थीलाई सीपयुक्त बनाउन सहयोग पुग्ने ढकालको भनाइ छ।

‘पढाइका अतिरिक्त विद्यार्थीलाई अतिरिक्त ज्ञान पनि आवश्यक पर्दछ, त्यसमाथि सीपमूलक ज्ञान त झन प्रभावकारी हुन्छ’।विद्यार्थी पनि यो कार्यक्रममा उत्साहित छन्,’ उनले भने।

विद्यार्थीलाई सीपसँग जोड्ने उद्देश्यसहित पढ्दै कमाउँदै कार्यक्रम लागू गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए। ‘विद्यार्थीलाई आत्मनिर्भर बनाउनुपर्छ, सकिन्छ भन्ने दृढ इच्छाशक्तिका साथ शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोड्नुपर्छ,’ चुमानले भने, ‘सीपयुक्त एवं स्वावलम्बी नागरिक उत्पादन गर्ने मुख्य लक्ष्यसहित यो कार्यक्रम सुरुआत गरेका हौँ।’

गाउँपालिकाले विद्यालयको जग्गाको उपलब्धता, विद्यालयको माग र आवश्यकताका आधारमा अन्य पालिकामा पनि यो कार्यक्रम विस्तार गर्ने जनाएको छ।