प्रहर खबर
 २०८३ भाद्र १९, शुक्रवार    

खदाङमा भेटिएको शव गुल्मपति पण्डितको हुन सक्ने आशंका

२०८० भाद्र २६, मंगलबार ११:२८ बजे

काठमाडौं – डोल्पा त्रिपुरासुन्दरी नगरपालिकाको खदाङस्थित भेरी नदीमा मंगलबार एक जनाको शव फेला परेको छ। सञ्चारमाध्यमका अनुसार उक्त शव १६ दिनदेखि हराइरहेका डोल्पाका गुल्मपति बिमल पण्डितको हुन सक्ने आशंका गरिएको छ।

शव त्रिपुरासुन्दरी नगरपालिकामै पर्ने खदाङ भन्ने ठाउँमा भेटिएको प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले जानकारी दिए। मंगलबार बिहानै स्थानीयले शव फेला परेको जानकारी दिएका थिए।

लगत्तै जिल्ला प्रहरी प्रमुख डिएसपी शिव बुढाथोकीको नेतृत्वमा टोली परिचालन गरिएको प्रजिअ पोखरेलले जानकारी दिए। डिएसपीको टोलीले भेटिएको शव सदरमुकाम ल्याउँदैछ।

‘उहाँको बुवा ब्यारेकमा हुनुहुन्छ। शव पण्डितको हो कि होइन भनेर बुवाले पहिचान गरेपछि मात्रै एकिन हुन्छ,’ डिएसपी बुढाथोकीले भने। नन्दबक्स गुल्मका गुल्मपति पण्डित गत भदौ १० गते अपराह्न ४ः५५ बजेदेखि सम्पर्कविहीन भएका थिए।